सिरहा, २७ वैशाख । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामा समेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् ।
सिरहा नगरपालिका–१७ माडरस्थित सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन्। दुवै देशका सुरक्षा निकायले तालमेल गर्दै संयुक्त गस्ती थालेका छ्न।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण र शान्ति सुरक्षा सुनिश्चित गर्न संयुक्त गस्ती सुरु गरिएको छ। सुरक्षाफौजको यस्तो सहकार्यले सीमावर्ती क्षेत्रमा अनावश्यक आवतजावत, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
भारत-पाकिस्तान तनावले उक्त क्षेत्रका नागरिकहरू नेपाल प्रवेश गर्ने खतरा रहेको सुरक्षा निकायको निष्कर्ष छ। गृह मन्त्रालय स्रोतका अनुसार युद्धका बेला पीडितहरू अन्य देशमा शरण माग्न जाने प्रचलन छ। यस्ता समूहहरू लुकीछिपी नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ।
यसका लागि सरकारले सीमामा संयुक्त गस्ती बढाउने, विशेष निगरानी गर्ने र सबै सुरक्षा निकायलाई हाइ अलर्टमा राख्ने सरकारको तयारी छ। परिचय नभएका व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाउने निष्कर्ष पनि निकालिएको छ।
यसैबीच परिचयपत्र बाहक यात्रुलाई मात्रै नेपाल–भारत आवागमन गराउन सरकारले परिपत्र गरेको छ । पहलगाममा एक नेपालीसहित २६ पर्यटकको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणसँगै भारत–पाकिस्तान युद्धमा उत्रिएपछि सिर्जित परिस्थितिलाई दृष्टिगत गरी गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सीमा जोडिएका दक्षिणतर्फका नाकाबाट आवागमन गर्दा यात्रुलाई परिचयपत्र अनिवार्य गरेको हो ।
भारततर्फका अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विशेष निगरानी बढाउन गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र दक्षिणतर्फ सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहको परिपत्रपछि नेपाल प्रहरी र सशस्त्रले सीमा नाकामा सुरक्षा गस्ती र जाँच पनि बढाएका छन् ।
सशस्त्रका साढे दुई सय बोर्डर आउट पोस्ट (बीओपी) मार्फत सीमा सुरक्षार्थ जनशक्ति तैनाथ गराइएको छ । प्रहरीका ६० भन्दा बढी सीमा इलाका युनिटमार्फत सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा जनशक्ति तैनाथ छन् । यसका अतिरिक्त पछिल्लो घटनाक्रमपछि अरू युनिटबाट पनि दुवै संगठनले सीमा क्षेत्रमा गस्ती बढाएका हुन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत–पाकिस्तान बढ्दो तनाव र त्यसबाट नेपाललाई पर्न सक्ने असरका विषयमा चारवटै सुरक्षा निकायका अधिकारीले ब्रिफिङ गरेका थिए । त्यसअघि केन्द्रीय सुरक्षा समिति बैठकमा घटनाक्रमबारे समीक्षासमेत गरिएको थियो ।
प्रधानमन्त्रीलाई ब्रिफिङ र गृहमन्त्री रमेश लेखकसहितको सुरक्षा बैठकपछि गृह मन्त्रालयले भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी सीमाबाट आवागमन गर्दा परिचयपत्र अनिवार्य गराएर यात्रुको गन्तव्य खुल्ने गरी अभिलेख राख्न भनेको हो । गृहको परिपत्रसँगै सम्बन्धित यात्रु कुन ठाउँबाट आएको, गन्तव्य कुन ठाउँ हो, प्रयोजन के हो लगायत विवरण अभिलेखमा समेटिएको एक सुरक्षा अधिकारीले बताए ।
पछिल्लो विकसित घटनाक्रमलाई विश्लेषण गरेर सीमाक्षेत्रमा आवश्यक सुरक्षा सावधानी अपनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जनाए । ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सुरक्षा सावधानी अपनाउन आवश्यक निर्देशन दिइसकेका छौं,’ उनले भने ।
भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा अन्तर्राष्ट्रिय सीमा कायम छ । भारतसँग खुला सिमाना भएकाले आवामगन व्यवस्थापन र अभिलेख प्रणाली अव्यवस्थित छ ।
चीनसँग करिब १ हजार ४ सय १४ किमि लम्बाइमा सीमा रहेकामा भिसा बाहक व्यक्ति मात्रै आवागमन गर्न पाउने भएर भारततर्फ जस्तो आवागमन व्यवस्थापनमा चुनौती छैन । भारतबाट खासगरी ठूला, मध्यम र छोटी नाकासहित राज्यको उपस्थिति नै नभएका नाकाबाट हुने आवागमन व्यवस्थापन चुनौतीपूर्ण छ ।