२० वैशाख, काठमाडौँं । सन् २०२५ को अप्रिल महिनामा एक लाख १६ हजार बढी विदेशी पर्यटक भित्रिएका छन् । यो प्रति महिनाको हिशाबले हाल सम्मकै उच्च हो ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् ।
यो आकंडाले नेपालमा विदेशी पर्यटकहरुको आगमनमा आशाजनक बृद्धि भएको देखाउछ ।
अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ ।
कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए ।
सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए ।
२०२५ को पहिलो चार महिनामा चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् ।