वैशाख १८, काठमाडौँ । तीन दिने नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले सत्तासिन र विपक्षी दलका गरेर तीन पूर्वप्रधानमन्त्रीसहित ११ जना नेतालाई भेटेका छन् ।
बुधबार गृहमन्त्री रमेश लेखकलाई भेटेर सुरु भएको राजनीतिक दौडधुप बिहीबार साँझसम्मै जारी छ । बुधबार चौथाइवालेले लेखकका अलावा कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा र राति अबेर गरी कांग्रेस नेता शेखर कोइरालासँग डिनर भेटवार्ता गरेका थिए ।
चौथाइवालेको भेटघाटको श्रृंखला बिहीबार बिहानैबाट सुरु भयो । बिहीबार उनले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटे । साथै कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस नेता प्रकाशशरण महत र उदयशमशेर राणालाई बेग्लाबेग्लै भेटे । त्यस्तै उनले माओवादी नेता जनार्दन शर्मालाई छुट्टै भेटेका छन् ।
तीन दिनका लागि नेपाल भ्रमणमा आएका चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीका अलावा सत्ता गठबन्धनका अन्य प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू र मधेसी मोर्चाका नेताहरूसँग भेट्ने कार्यक्रम छ ।
गतसाता जम्मु कश्मिरस्थित पहलगाममा नेपालीसहित २६ जनाको ज्यान जाने गरी गरिएको पर्यटनमाथिको आतंकवादी हमलाको पृष्ठभूमिमा यो भ्रमण भएको देखिन्छ । चौथाइवालेले आतंकवादको विरोधमा नेपालका नेताहरूको समर्थन कायम राख्ने प्रयास गरेका छन् ।