पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षा गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको फाइनलमा ललितपुरले पोखरालाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचालेको हो। उपाधिसँगै ललितपुरले ८० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पोखराले ३० लाख रुपैयाँ प्राप्त गर्यो।
अघिल्लो सिजन ललितपुरले धनगढी एफसीलाई हराउँदै एनएसएलको उपाधि जितेको थियो। खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको ललितपुरले दोस्रो हाफमा १ गोल थप्दा १ गोल खान पुग्यो। खेलको ७८ औँ मिनेटमा पोखराका सुरज जिउ ठकुरीको फ्रिकीक प्रहार सिधै ललितपुरका गोलरक्षकको हातमा पुग्यो।
खेलको ७४ औँ मिनेटमा पापा इबो केबेको गोलमा ललितपुरले पोखराविरुद्ध २–१ ले अग्रता बनाएको थियो। इमोह इजेकिलेको प्रहारलाई नियन्त्रणमा लिदै पापा इबो केबेले पोष्टको जाली चुमाएपछि ललितपुरले पोखराविरुद्ध पुनः अग्रता बनाएको थियो।
खेलको ६२ औँ मिनेटमा सुदील राइको गोलमा पोखरा खेलमा फर्किएको थियो।
त्यसअघि पहिलो हाफको ४१ औँ मिनेटमा मनोज राइको क्रसमा इमोन इजिकेको हेडर गोलमा ललितपुरले सुरुवाती अग्रता बनाएको थियो।