सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान निर्णायक वार्ता हुँदैछ। वार्ता ७ः ३० बजेका लागि तय भएको शिक्षा मन्त्रालयले जनाएको छ। शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरुलाई शनिबार बिहान वार्ताका लागि बोलाइएको जानकारी दिएका छन्।
शिक्षा मन्त्रालयले हिजै शिक्षकहरुसँग वार्ता तय गरेको थियो। तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधि सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएका थिए।
शिक्षकका प्रतिनिधि हिँडेपछि भने पास बोकेर शिक्षा मन्त्रालयका सहसचिव र डीएसपी सिंहदरबारको गेटमा पुगेका थिए।
हिजो तय भएको वार्ताको लागि सरकारले शिक्षकका प्रतिनिधि तोकिदिएपछि वार्ता भाँडिएको शिक्षक नेताहरुले बताएका छन्।
तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा दवावमूलक आन्दोलन गर्दै आएका छन्।