ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका मे १ च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको हो।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।
त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य, उनका १० वर्षीय छोरा भविमय आचार्य छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
आज बिहान करिब ५ बजे बिजुलीको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा बलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।