काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको भ्रूण नेवार समुदायमा रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा, संस्कृति, उत्पादनमा रहेको बताएका हुन् ।
उनले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गरे । उनले नेपालको इतिहासमा आदिवासी जनजातिहरूमध्ये नेवार समुदाय नै अग्रणी भूमिकामा रहेको जिकिर गरे । नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने प्रचण्डको भनाइ छ ।
उनले भने, ‘समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा, संस्कृतिमा, उनीहरूको उत्पादन सम्बन्धमा, उनीहरूका गुठी लगायतका विभिन्न खालका संस्था संरचनाहरू जे बनेका छन्, त्यहीँ नेपाली विशेषताको समाजवाद छ । त्यसकारण मैले हाम्रो पार्टीका नेताहरूलाई नेपालको इतिहासमा आदिवासी जनजाति, त्यसमा पनि अग्रणी नेवार समुदाय नै हो ।’
अध्यक्ष प्रचण्डले भने, ‘नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरूको भाषा, संस्कृतिबारे जानकारी लिएर मात्रै हामीले नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । त्यसकारण यो सम्मेलनलाई एउटा विशेष सुरुवात, एउटा पहल, नयाँ बाटोतिर अघि बढ्ने पहलको रूपमा मैले लिएको छु । त्यहाँसम्म हामी आइपुगेका छौँ । ’
उनले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुःसाहस गरेको भए पनि सफल नहुने जिकिर गरे ।