२५ अर्ब खर्च गरेर बनाईएको पोखरा बिमानस्थलमा १० अर्ब भ्रष्टाचार, कार्बाही सिफारीस गर्न सत्ता पक्षका अधिकांश सांसदले मानेनन्

२५ अर्ब खर्च गरेर बनाईएको पोखरा बिमानस्थलमा १० अर्ब भ्रष्टाचार, कार्बाही सिफारीस गर्न सत्ता पक्षका अधिकांश सांसदले मानेनन्

  • शुक्रबार, बैशाख ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

चीनको एक्जिम बैंकबाट २२ अर्ब ऋण काढेर बनाइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको संसदीय उपसमितिले ठहर गरेको छ । राप्रपा सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा लेखा समितिले गठन गरेको १० सदस्यीय उपसमितिले १० महिना लामो अध्ययनपछि पोखरा विमानस्थल निर्माणमा ठेक्का सम्झौता गर्दादेखि नै अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।

यति ठुलो अंकमा भएको अनियमितता र भ्रष्टाचारमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र महानिर्देशकसहित आठ अधिकारीलाई डामेको उपसमितिले तत्कालीन मन्त्रीलाई भने चोख्याएको छ ।

उपसमितिले क्यानका महानिर्देशक प्रदीप अधिकारी तथा पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेलमाथि छानबिन गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्न अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन गर्नुपर्ने ठहर गरेको छ । उपसमितिले डामेका अन्यमा क्यानका निर्देशकहरू विनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ र बाबुराम पौडेल हुन् ।

त्यस्तै, क्यानका उपनिर्देशक इन्जिनियर प्रविन न्यौपाने र क्यानअन्तर्गत गौरवका आयोजना हेर्ने शाखाका प्रशासन प्रमुख सहसचिव राजेन्द्रप्रसाद पौडेल पनि छन् । पौडेल हाल अख्तियार प्रवक्ता छन् । तर, सरकारी कर निर्माण कम्पनीले नै व्यहोर्ने ठेक्का सम्झौताको सर्तविपरीत दुई अर्ब २२ करोड छुट दिएका तत्कालीन अर्थमन्त्री कांग्रेसका ज्ञानेन्द्र कार्की र तत्कालीन विभागीय नागरिक उड्डयन तथा पर्यटनमन्त्री एमालेका योगेश भट्टराईको भने प्रतिवेदनमा नामसमेत उल्लेख छैन ।

२३, २४ र २५ असारमा स्थलगत अध्ययनसमेत गरेर उपसमितिले तयार पारेको प्रतिवेदन मूल समितिलाई बुझाउने अन्तिम तयारी थालेको छ । यसका लागि उपसमिति सदस्यहरूको हस्ताक्षर गराउन थालिएको छ । तर, बुधबार छलफलपछि हस्ताक्षर थालिएकामा सत्तापक्षका पाँच सांसदले हस्ताक्षर नै गर्न मानेका छैनन् ।

सत्तापक्षबाट कांग्रेसका अर्जुननरसिंह केसीबाहेक अन्य पाँच सांसदले हस्ताक्षर गरेका छैनन् । एक सदस्यका अनुसार प्रतिवेदनमा समिति सभापतिसमेत रहेका राप्रपाका राजेन्द्र लिङ्देन, माओवादीका अमनलाल मोदी र जनार्दन शर्मा तथा एकीकृत समाजवादीका प्रेम आलेले हस्ताक्षर गरे ।

सत्तापक्षबाट प्रतिनिधित्व गरेका कांग्रेसका अर्जुननरसिंह केसीले पनि अनियमितता बाहिर ल्याउने गरी प्रतिवेदन आएको भन्दै सहजै हस्ताक्षर गरे । तर, एमालेका गोकुल बाँस्कोटा र तारा लामा तथा कांग्रेसका देवप्रसाद तिमिल्सिनाले हस्ताक्षर गर्न मानेनन् ।

स्रोतका अनुसार बाँस्कोटा आफन्तको बिहेमा जान हतार भएको भन्दै हिँडेका थिए भने थप अध्ययन गर्ने भन्दै निस्किएका लामा प्रतिवेदनमा हस्ताक्षर छल्न बिहीबार साँझ धनगढी पुगेका छन् । तिमिल्सिनाले भने विमानस्थल निर्माणका क्रममा कर छुटको निर्णय गर्ने कांग्रेसकै तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको संलग्नतालाई प्रतिवेदनबाट हटाउनुपर्ने माग राखेर हस्ताक्षर नगरेको स्रोतले बतायो । कांग्रेसकै दीपक गिरी र रामकृष्ण यादव भने बैठकमै अनुपस्थित थिए ।

उपसमिति संयोजक राजेन्द्र लिङ्देनले पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिइएको र हस्ताक्षरको प्रक्रिया सकिएपछि छिट्टै पूर्ण समितिमा बुझाउने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी