काठमाडौँ । नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा आज हङकङ यू–१९ विरुद्ध ९ विकेटको सानदारजित निकालेको छ ।
युवराज खत्रीले लगातार दोस्रो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले हङकङसँगको खेल जित्न १ सय १६ रनको लक्ष्य पाएको थियो।
नेपालले तल्लो मूलपानी क्रिकेट मैदानमा १२.३ ओभरमा १ सय १८ रन बनाउँदै विजय हात पारेको हो। पहिलो खेलमा यूएईलाई ५ रनले पराजित गरेपछि नेपालले दोस्रो खेलमा ओमानमाथि ८ विकेटको जित निकालेको थियो ।
अफगानिस्तानले पनि पहिलो दुई खेलमा विजय हात पारेको छ।
नेपाल र अफगानिस्तान बीच शनिबार हुने खेल फाइनल सरह हुने निश्चित भएको छ। नेपाल, ओमान, यूएई, अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्नेछ।
निरज यादव र साहिल पटेलले ६ ओभर भित्र ५५ रन जोडेर नेपाललाई सानदार सुरुआत दिलाएका थिए। निरज १२ बल खेली ४ चौका प्रहार गरी २३ रनमा आउट भए। साहिल ४१ बल खेली ८ चौका प्रहार गरी ४२ र कप्तान नरेन भट्ट २३ बल खेली ८ चौका प्रहार गरी ३९ रन बनाई अविजित रहे।
यसअघि टस हारपछि ब्याटिङमा आएको हङकङ ४६.२ ओभर खेली केवल १ सय १५ रनमा अलआउट भएको थियो। यूएईविरुद्धको अघिल्लो खेलमा १७ रन खर्चेर ५ विकेट लिएका लेग स्पिनर युवराजले बुधबार पनि ४ विकेट लिएपछि हङकङको ब्याटिङ तहस नहस भएको थियो।
युवराजले १० ओभरमा १८ रन मात्र खर्चेका थिए। हङकङबाट सर्वाधिक ६३ रन बनाएका शिव माथुरलाई पनि युवराजले नै आउट गरेका थिए। शिवले १ सय १६ बल खेली ४ चौका र १ छक्का प्रहार गरे।
ओपनर पन्जावनीले १३, वीर माथुरले १२ र हृयारी थोमस हेडसनले १० रन बनाए। नेपाली टोलीमा एकमात्र परिवर्तनको रूपमा तीब्र बलर दयानन्द मण्डलको स्थानमा आएका विपिन शर्मालाई खेलाइएको थियो। चार महिना सम्पन्न नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा इमर्जिङ प्लेयरमा चुनिएका विपिनले प्रतियोगितामा पहिलो खेल खेल्दै ३ विकेट लिए। उनले ६।२ ओभरमा २४ रन खर्चे।
अभिषेक तिवारीसँग नयाँ बल लिएर आएका विपिनले आफ्नो पहिलो ओभरमै जुड ली थोमसलाई शुन्यमा आउट गरि नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। अर्का स्पिनर सन्तोष यादवले १० ओभरमा २० रन खर्चेर २ विकेट लिए। अशोक धामीको नाममा १ विकेट रह्यो।
अब अफगानिस्तानमाथि जीत निकाल्न सके नेपाल विश्वकपका लागि छनौट हुनेछ ।