ललितपुर, २२ चैत । पत्रकारको क्षमता अभिवृद्धिमा राज्यले पर्याप्त लगानी गर्न आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।
गोदावरी नगरपालिका वडा नं ३ को सहयोगमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आज आयोजना गरेको विपद् व्यवस्थापन तालिममा सहभागी सरोकारवालाहरुले विपद्को समयमा अग्रभागमा रहेर काम गर्ने पत्रारहरुको सुरक्षा र क्षमता विकासका लागि राज्यको लगानी आवश्यक भएकोमा जोड दिएका हुन् ।
तालिममा बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले पत्रकार समाजको ऐनासमेत भएकाले व्यावसायिक प्रवर्द्धन र क्षमता अभिवृद्धिका लागि राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकारको उचित पारिश्रमिक र सेवासुविधाका साथै क्षमता अभिवृद्धिको व्यवस्था गरिनुपर्छ । यसका लागि कानुनी र नीतिगत व्यवस्था गरेर पत्रकारितामा उत्प्रेरित गर्न राज्यले ध्यान दिन आवश्यक छ उहाँले भन्नुभयो, “बागमती प्रदेशमा नीतिगत योजना बनाउँदै गर्दा हामी यी विषयलाई सम्बोधन गर्न ध्यान दिनेछौँ ।”
पत्रकारलाई सक्षम र सबल बनाउन योगदान दिने कुराले समाजलाई सकरात्मक दिशामा लैजान सहयोग पुग्ने उहाँको भनाई थियो । विपद्को विषयमा केन्द्रीत यस तालिमले नयाँ ऊर्जासहित पत्रकारमा सीप र दक्षता हासिल गर्न सघाउ पु¥याउने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य लामाले जोखिम मोलेर विपद्को समयमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने पत्रकारले आफूलाई सुरक्षित राखेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपद् जोखिम न्यूनीकरण सबैको साझा दायित्व भएको र पत्रकारिता क्षेत्रको भूमिका अझ महत्वपूर्ण रहेको बताउनुभयो ।
वडा नं ३ का अध्यक्ष सानुराज घिमिरेले समाजमा धेरै किसिममा विपद्का बेला असावधानीका कारण ज्यानकै जोखिम हुनसक्ने भन्दै आफू सुरक्षित रहेर जनतालाई सुसूचित गराउने भूमिका निर्वाहका लागि पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले सुरक्षालाई पहिलो प्राथमिकता दिएर पत्रकारिता गर्न यस तालिमले प्रेरित गर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी बल दक्षिणकाली गण सातदोबाटोका प्रहरी उपरीक्षक राजेश लामिछानेले नागरिक र आफ्नो सुरक्षा सवालमा प्रभावकारी काम गर्न तालिमले आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गर्ने विस्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले विपद् पत्रकारिताको ज्ञान र सीप प्रदान गर्ने अभिप्रायले तालिम आयोजना गरिएको बताउनुभयो ।