चैत्र २२ काठमाण्डौँ । जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत आज बर्दियामा विभिन्न कार्यक्रम हुँदैछ । हुलाकी राजमार्ग केन्द्रीत यो अभियान राजावादीको गतिविधि, स्ववियु निर्वाचन र जनप्रदर्शनका कारण रोकिएर बाँकेबाट पुनः शुरु भएको थियो । आज बर्दियामा कार्यक्रमहरु हुन लागेको माओवादीले जनाएको छ ।
अभियान अन्तर्गत अध्यक्ष प्रचण्डसहितका नेता शुक्रबार बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी भइरहेका प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डसहितका नेताले आज बिहान मर्निङवाकसँगै बडैया तालको अवलोकन गरेका छन्।
प्रचण्डले बडैयाका सहिद परिवारसँग पनि भेटघाट र अन्तक्रिया गरेका उनको सचिवालयले जनाएको छ।
जनयुद्धको बेला तत्कालीन राज्यपक्षबाट बेपत्ता बनाएका शिवचरण थारुको घरमा पुगेर उनले शिवचरणका परिवार मगती थारु र स्थानीयसँग अन्तक्रिया गरेका हुन्।
त्यसक्रममा प्रचण्डसहितका नेताले कमलको फूलको पातमा थारु परिकारसहितको खाजा खाएका थिए। प्रचण्ड गएराति बडैया ताल – ५ का वडाध्यक्ष बलिराम थारुको बास बसेका थिए।
गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो।
अभियान अन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, बाँके लगायतका जिल्लामा अभियान सम्पन्न भइसकेको छ।
अब नवलपुर, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली र कञ्चनपुरमा अभियानका कार्यक्रम बाँकी रहेको छ ।