१९ चैत, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बन कानुन अनुसार भएको बताएका छन् ।
सभामुख भेट्न मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका रास्वपा सभापति लामिछानेलाई घिमिरेले भने, ‘कानुन भन्दा माथि कोही पनि छैन । मैले कानुन अनुसार नै गरेको छु ।’
भेटमा लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको बताए ।
जवाफमा सभामुख घिमिरेले आफूले कानुन अनुसार नै जिम्मेवारी निर्वाह गरेको बताएका हुन् ।
लामिछानेले सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सांसद पद निलम्बन गरिदिने प्रवृत्ति जो सुकैका हकमा समेत लागू हुन सक्ने बताए ।
सभामुखसँगको भेटपछि लामिछानेले आफूमाथि लगाएकोजस्तो मुद्दा सरकारले विपक्षी पार्टीका नेतालाई मात्रै नभएर पार्टीभित्रै पनि प्रतिस्पर्धीलाई लगाउन सक्ने बताए ।
लामिछाने पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन् ।
संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने पहिलो दिन गत माघ १८ गते पनि सभामुख घिमिरेलाई भेटेर लामिछानेले सांसद पद निलम्बन फुकुवाको माग गरेका थिए ।
मंगलबार उनले पुनः भेटेर निलम्बन फुकुवाको आग्रह गरेका हुन् ।