चैत्र १८,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको जिम्मेवारी पूर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले चैत १५ को आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताउँदै भने, ‘यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? ‘
प्रधानमन्त्री ओलीले इतिहासको कुनामा फ्याँकिसकेको व्यक्तिसँग सामेल भएर घटाइएको हिंस्रक घटनामा संलग्न जोसुकैमाथि कडा प्रशासनिक कारबाही हुने बताए । उनले भने, ‘मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ?
ती सबै घटनाको मूल जिम्मेवार पूर्वराजा नै भएको र उनले नै जिम्मेवारी लिनु पर्ने उनले बताए ।
सम्बोधनकै क्रममा उनले एक वर्षदेखि संविधान र सरकारमाथि बारम्बार प्रहार समेत भएको बताए ।