चैत्र १२ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको कारणबारे आज संसदमा जवाफ दिने छन् ।
आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ।
कार्यकाल ४ महिना बाँकी छँदै हटाइएका कुलमानका विषयमा प्रधानमन्त्रीले संसद्मै जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले लगातार सदन अवरुद्ध गरिरहेका छन्।
सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि विपक्षी रुष्ट छ। राम्रो काम गरिरहेका उनलाई पूरा कार्यकाल रहन दिनुपर्ने माग विपक्षीको छ।
कुलमानले पनि आफ्नो पुर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा हालेका छन्।
अदालतले उनको रिट निवेदन सुनुवाइ मंगलबार गर्दैछ ।
यसअघि आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलास तोकिए पनि हेर्न नमिल्ने जानकारी गराइएको थियो।
विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएको कारण कुलमानको रिट ‘हेर्न नमिल्ने’मा परेको हो।