चैत्र १५, काठमाडौँ । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको थियो । प्रहरीले पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सक्रिय अधिवक्ता स्वागत नेपाल पनि पक्राउ परेका छन् ।
उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । ललितपुरको ग्वार्कोबाट रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ गरिएको हो ।
‘राजसंस्था पुनः स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्दमा राखिएको छ । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर काठमाडौँको तीनकुनेमा प्रदर्शनको नाममा हिंसात्मक गतिविधि गरेको आरोप छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र सुवेदीको नेतृत्वको समूहले गरेको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका छन् । नवराज सुवेदी हालै राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् ।