नेकपा (एमाले) ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ।
एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको सुरुवात गर्ने महासचिव शंकर पोखरेलले बताए।
तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो।
यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गरिने छ।
एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बागमतीबाहेकका छ वटै प्रदेशका सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ।
यी सभालाई सम्बोधन गर्न केन्द्रीय नेता जाने एमालेले जनाएको छ। आज महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिए।
नेकपा (एमाले) केन्द्रीय सचिवालयको यही चैत ४ गते बसेको ४६औं बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि उभिने निर्णय गरेको थियो।