नेकपा माओवादी केन्द्रले गणतन्त्रको विपक्षमा भइरहेको पूर्वराजाको सक्रियता परिवर्तन उल्टाउन खोजेको भन्दै शसक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
त्यसका लागि समाजवादी मोर्चामा रहेका दलसँग छलफल गरेर कार्यक्रम तय गर्ने तयारी छ। सोमबार बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर राजावादीले व्यवस्थामाथि चुनौति दिन खोजेको ठहर गरेको नेताहरुले बताएका छन् ।
अहिले एमाले काँग्रेसको सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टी बढेको भन्दै त्यसलाई न्युनीकरण गर्दै आफ्नै संघर्षको बलमा आएको गणतन्त्रको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा माओवादी पुगेको हो ।
काठमाडौंमा राजावादीहरूले गरेको प्रदर्शनबारे समीक्षा भएको थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले माओवादीको अगुवाइमा नै गणतन्त्र आएकाले रक्षा गर्ने काम पनि माओवादीकै भएको बताएका थिए।
उनले राजावादीहरूको आइतबारको कार्यक्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि प्रदर्शन भएको विषय गम्भीर चिन्ताको विषय भएको बताएका थिए।
त्यसका लागि माओवादीका शीर्षसहितका नेताले सोमबार नै समाजवादी मोर्चामा रहेका दलसँग छलफल गर्दैछन्।