महिलामाथिको आधुनिक पितृसत्तावाद

महिलामाथिको आधुनिक पितृसत्तावाद

  • शनिबार, फाल्गुन २४, २०८१
  • सिर्जना तिम्सिना

  • 35.7K
    SHARES

लोग्ने मानिस र स्वास्नीमानिस एउटा रंगमञ्चमा रहन्छन् र तिनीहरु बराबरी महत्वको आ–आफ्नो भूमिका निभाउछन् । तर रंगमञ्चको कार्यक्रमको कल्पना,तयारी र रुप पुरुषबाटै निर्धारण गरिन्छ । उसले आफूलाई सब भन्दा राम्रो र मुख्य भूमिका लिन्छ र महिलालाई सहायक भूमिका दिन्छ । (कमला भासिनको पितृसत्ता के हो ? बाट )

हो भासिनले भने जस्तै महिलाहरुलाई जहिले सहायक वा पुरुषको सहयोगीको रुपमा मात्रै हेर्ने दृष्टिकोण विश्वले आर्थिक सामाजिक विकास जतिसुकै गरेको भए पनि परिवर्तन भएको देखिदैन । चाहे महिला राष्ट्रपति होस्, चाहे प्रधानमन्त्री वा सभामुख या जुनसुकै अन्तराष्ट्रिय मञ्चहरुको नेतृत्व किन नहोस् तर एउटा प्रणालीको रुपमा उनीहरु पुरुष प्रधानताबाट नियन्त्रित गरिएका हुन्छन् ।
महिलाहरुले समान काम, समान ज्याला, समान अधिकार मागेर आन्दोलन शुरु गरेको सय बर्ष बढी भयो । हामी ८ मार्च मनाईरहेका छौं । यस दिवसका दिन संसारभर र्याली, सेमिनार, गोष्ठी हुनु स्वभाविकै छ । तर सय बर्षमा आएको परिवर्तन कस्तो छ ? यसले महिलालाई कानुनी र संवैधानिक अधिकारको दृष्टिकोणबाट, मतदानको दृष्टिकोणबाट अधिकार प्रदान गरेको छ । यसो हेर्दा अब महिला विभेद नभएको जस्तो लाग्छ । किन भने महिलाहरु राष्ट्रप्रमुख, मन्त्रीमण्डल, विभिन्न एजेन्सीहरुको नेतृत्व छानिन पनि थालेका छन् । तर यो पुरुष प्रधानताबाट मुक्त छैन ।
विश्वभर महिलाको जनसंख्या आधा भन्दा बढी अर्थात ५१ प्रतिशत हाराहारी छ । विश्वको जनसंख्या आजको मितिमा करिब ८ अर्ब पुगेको छ । यति बिशाल जनसंख्याको ठूलो हिस्सा महिला हुदा हुदै पनि उनीहरु कुनै न कुनै प्रकारको पुरुष प्रधानताबाट प्रताडित हुन बाध्य देखिन्छन् ।

८ मार्च: अन्तराष्ट्रिय श्रमिक महिला दिवस शुरु भए पछि

अमेरिका जुन देशमा महिला अधिकारका लागि आन्दोलन शुरु भयो एक सय १४ बर्ष अघि । यसको मुख्य नेतृत्व क्लारा जेटकिनले गरेकी थिईन् । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तराष्ट्रिय सम्मेलनबाट क्लारा जेटकिन सचिव वनिन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा खास गरी कपडा कारखानाका महिलाहरूले समान काम, समान ज्याला, मताधिकार जस्ता मुद्धा उठाएर बिशाल हड्ताल गरे । यो आन्दोलनको नेतृत्व क्लारा जेट्किनले गरिन् । उनी एक माक्र्सवादी नेतृ पनि थिईन् । सोसलिष्ट पार्टीले यो आन्दोलनलाई सघायो ।
सन् १९१० मा कोपेनहेगेनमा दोस्रो समाजवादी अन्तराष्ट्रिय सम्मेलनमा जेटकिनले राखेको प्रस्ताव अनुसार शिकागोको महिला आन्दोलनलाई अन्तराष्ट्रिय दर्जा दिदै ८ मार्चलाई अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय भए लगत्तै यो दिवसले विश्वव्यापी रुप लियो । त्यसै आन्दोलनको प्रभाव स्वरुप रुसमा पनि रोटी, शान्ति र जमिनको नारामा महिलाहरुले हड्ताल गरे । जारशाहीको सत्ता ढले पछि त्यहाँ बनेको अन्तरीम सरकारले महिलालाई मताधिकार प्रदान गर्यो । त्यस पछि संसारभरी नै महिलाको हक अधिकारको मुद्धा र आन्दोलन हुदै गए । यो कम्युनिष्टहरुले प्रारम्भ गरेको दिवस भएपनि आज संसारका सबै महिलाहरुको साझा दिवसको रुपमा स्थापित हुन पुगेका छ । यो आन्दोलन पछि नै ससारभर आज महिलाहरुले मताधिकार, राजनीतिक अधिकार,संवैधानिक र कानुनी अधिकार प्राप्त गर्दै गएका छन् । यसलाई निकै ठूलो उपलव्धि मान्न सकिन्छ ।

सुन्दरी प्रतियोगीताको शुरुवातः आधुनिक पितृसत्ताबादको नयाँ स्वरुप

महिलाहरुलाई सुन्दरी भन्न पुरुष पछि पर्दैन । कति राम्री , कस्तो ब्यूटी , त्यो लुगा, त्यो गहना कति सुहाएको । महिलाहरुको रुप र यौनिकतामाथि पुरुषले गर्ने प्रसंसा यसरी सुनिन्छ समाजमा । तर जब पुरुषहरुले ती सुन्दरीहरुलाई आफ्नो बसमा लिन्छ, नियन्त्रण गर्दछ तब उसले दासत्वको जिम्मेवारी सुम्पिन्छ र आफूले शासन गर्न थाल्दछ ।
आज संसारभरी सौन्दर्य प्रतियोगीताको नाममा महिलाहरुलाई अर्धनंग्न बनाउने, उनीहरुको शरीरको विज्ञापन गर्ने र आर्थिक शक्तिहरुले मुनाफा कमाउने साधनको रुपमा महिलाहरु प्रयोग भईरहेका छन् । सौन्दर्य प्रतियोगीताको थालनी सन् १९५१ मा जरसे ग्लोबल कम्पनीले बेलायतबाट शुरु गरेको थियो । र पछि अमेरीका हुदैँ विश्वभर फैलियो । नेपालमा पनि २०४६ सालको आन्दोलन लगत्तै देखि यस्ता प्रतियोगीता शुरु गरियो । अहिले त साना बालिकाहरुलाई समेत मिस प्रतियोगीता, अनेकौ सो हरुका नाममा प्रयोग गर्न थालिएको छ ।

संसारमा महिलाहरुलाई कानुनले, संविधानले र समाजले अधिकार, स्वतन्त्रता र न्याय दिएको भन्छ तर व्यावहारत समग्र रुपमा पुरुषवादको छत्रछायाभन्दा बाहिर जान दिदैँन । अनी पुरुषवाद पर्दा पछाडि बसेर महिलाको बिरुद्ध महिला नै अग्रसर भएको चित्रण गराउदँछ ।

यसबाट दुई वटा कुरा स्पष्ट छ , पहिलो सौन्दर्य प्रतियोगीता मार्फत उत्पादन हुने केही मोडलहरु जसलाई पूजीवादले व्यापार विस्तार गर्ने, बजारीकरण गर्ने ठूलो विज्ञापनकर्ताको रुपमा प्रयोग गर्दछ । यसका निम्ती उसले सीमित लगानी गर्दछ । यही मुनाफा बाट उसले त्यहाँ लगानी गर्दछ जहाँ अरु बहुसंख्यक महिलाहरुको श्रमको प्रयोगबाट कमाएको हुन्छ । सौन्दर्य प्रतियोगीताले महिला अन्तराष्ट्रिय श्रमिक दिवस भन्दा बढी महत्व पाउने तिर जादैछ । समानताको लागि लडाई गर्ने श्रमिक महिलाहरु भन्दा पुतली जस्ता सजिने सुन्दरीलाई पुरुषले बढी मन पराउनु स्वभाविकै हो । आठ मार्च एक दिन महिलाहरु प्लेकार्ड बोक्छन् , गोष्ठी र्याली गर्दछन् । बाकी हरेक दिन सौन्दर्य प्रतियोगीता, फेसन सो, ब्युटी पेजेन्टहरु देखिरहनु पर्छ ।
आज हरेक जसो व्यवशायी सञ्चार माध्यमहरुले सुन्दरीहरुले समुन्द्र किनारमा विकिनी सहित तस्वीर खिचेको , किस गरेको, रोमान्स गरेको भनेर ठूल ठूला तस्वीरहरु छापिन्छ संसारभर, तर श्रमिक महिलाले कम ज्याला पाएको,हिंसाको सामना गर्नु परेको कुरा उनीहरुका लागि सामान्य घटनाको सूचनाका रुपमा मात्र छापिन्छ किन ? यो महिलामाथिको अर्को शोषण र व्यापार नै हो ।
यसबाट के बुझिन्छ भने समाजमा केही संवैधानिक एवं कानुनी अधिकार दिएर मात्र महिलालाई पुग्दैन । उनीहरुलाई आर्थिक अधिकार निश्चित गर्ने, स्वामित्व बराबर कायम हुने, उनीहरुको घरेलु श्रमको मुल्याकंन पुरुषले बाहिर गर्ने श्रमको मुल्य सरह मुल्याकंन हुने र प्रजनन जस्ता अधिकारमा महिलाहरु जब सम्म अब्बल हुदैनन् , तब सम्म महिलाहरुलाई अधिकार दिनु भनेको कृलोभको दन्त्य कथामा सिंहको शिकार जस्तै हो । जहाँ सिंहले सबैलाई शिकार भाग लगाउदँछ तर आफू शक्तिशाली भएकै कारणले अरुको पनि भाग आफै खान्छ । त्यस्तै संसारमा महिलाहरुलाई कानुनले, संविधानले र समाजले अधिकार, स्वतन्त्रता र न्याय दिएको भन्छ तर व्यावहारत समग्र रुपमा पुरुषवादको छत्रछायाभन्दा बाहिर जान दिदैँन । अनी पुरुषवाद पर्दा पछाडि बसेर महिलाको बिरुद्ध महिला नै अग्रसर भएको चित्रण गराउदँछ । त्यसकारण महिलाहरुलाई सुन्दरी बनाउने,सजाउने, राम्री देखाउने र ब्यापारीक प्रयोजनका लागि उनीहरुको त्यो रुप, त्यो रंग बेच्नु भनेको महिलामाथि आधुनिक दासता भनौं या आधुनिक पितृसत्ताबादको परोक्ष छाँया हो ।

बलात्कार र यौनिकतामाथि पुरुष नियन्त्रणको प्रश्न

बास्तवमा पशुहरुको संसारमा बलात्कार छैन तर चेतनशील प्राणी मानिसको संसारमा यति धेरै बलात्कार र जघन्य अपराध किन ? यसको कारणहरुको अध्ययन गर्नु आवस्यक छ । बलात्कार नेपाल, भारत जस्ता देशहरुमा दर्दनाक रुपमा देखिरहेका छन् । नेपालको निर्मला पन्त, भागरथी भट्टमाथिको बार्बरीक बलात्कार र हत्या देखि भारतको निर्भया जस्ता युवतीहरु, बालिकाहरु किन बलात्कृत भईरहेका छन् ? ठूला भनिएका राजनीतिक नेताहरु नै पनि बलात्कार र यौन दुराचारको आरोपमा थुनिने गरेका छन् । धर्मगुरुहरु यौन दुराचार र बलात्कारको मामलामा थुनिने गरेका छन् । आखिर यसको कारण के हो त ? के यसको कुनै जैबिक कारण छ ? के आर्थिक सामाजिक कारणले यस्तो भएको हो त ? यो गहिरो अध्ययनको बिषय छ ।
सिमोन दि बोउवार आफ्नो कृति “ दि सेकेण्ड सेक्सः महिला ” मा लेख्छिन्, ‘महिला पुरुष सरह एक शरीर अवस्य हो तर उसको आफ्नो शरीर यस्तो छ , जसमाथि उसको नियन्त्रण रहदैन ।’ यस्तै जैबिक कारणले खास गरी गर्भाधारण गर्न बाध्य हुने नारीलाई अरस्तुले निस्कृय माने र पुरुषलाई शक्ति गति एवं जीवन ।

आदिम कालदेखि नै जब समाज मातृसत्ताबाट पितृसत्ता तर्फ गयो । सामन्ती काल तिर गयो तब देखि नै महिलाहरुलाई दास र दोस्रो दर्जाको पुरुषको सहयोगी र उपभोग्य साधन र सेवकको रुपमा व्यवहार गर्न थालियो । यही व्यवहार र संस्कृतिको विकास हुदै समाज पूजीवादतर्फ प्रवेश गर्यो सौन्दर्यताको नाममा महिलालाई नङग्याउने र शोषण गर्ने आधुनिक पितृसत्तावादको विकास हुन पुग्यो । त्यसैको परिणामको केहि अंश हो, आजको बलात्कार र महिला हत्याको घटना । तर पश्चिमा खुल्ला समाजमा यौनलाई स्वतन्त्रताको बिषयको आडमा खुल्ला बलात्कार गरिन्छ । यौन सम्पर्कको स्वतन्त्रताको नाममा पैसाको आडमा बेस्यालयहरु बनाएर, भिल्लाहरु बनाएर उनीहरुले शारीरीक शोषण गर्दछन्, जुन कानुनी रुपमा बलात्कार मानिदैन तर महिला शोषित हुन्छे, चाहे वाध्यताले होस् या स्वतन्त्रताले । महिला अधिकारको आन्दोलन सुरु भएको पूजीवादको चरम विकास भएको खुल्ला र स्वतन्त्र समाज भएको भनिएको अमेरीकामा समेत महिलामाथिको यौन दुरव्यावहारका घटनाहरु बेला बेला सार्वजनिक हुने गरेको छ ।

महिलालाई आनुधिक दासता या पितृसत्तावादबाट मुक्त राख्ने हो भने आर्थिक, सामाजिक र राजनीतिक अधिकार र हिस्सा महिला र पुरुषको बराबर बनाईनु र लागू गर्नु पर्दछ । त्यसो भयो भने योगमायाले जस्तो विद्रोहका लागि अरुणमा हाम फाल्नु पर्ने, सासद यसोदा सुवेदीले भने जस्तो स्वस्थानीव्रत कथाको कितावको पाना च्यात्नु पर्दैन । महिला स्वतः मुक्त हुन्छन् ।

होटल, रेष्टुरेन्ट या कुनै फर्ममा महिलालाई चिटिक्क पारेर देखाएर आफ्नो सामान बेच्नु या ब्यापार गर्नु पूजीपति वर्गको मनशाय हो । पूजीवादले महिलाहरुलाई सजाएर, सुन्दरी देखाएर, विज्ञापन गराएर जसरी केही पैसा दिन्छ, त्यो पैसा फेरी त्यही सजिने गरगहना, लत्ताकपडा, मेकअप सामाग्रीहरु बेचेर पुनः त्यही पैसाको हिस्सा पनि फिर्ता गर्दछ चक्रीय रुपमा ।अझ पुरुषको दारि काट्ने ब्लेड देखि भित्रि वस्त्रको विज्ञापनमा समेत महिलालाई प्रयोग गरेको देखिन्छ । जहाँ महिलाको उपस्थिती नै आवश्यक छैन तर वस्तु बिकाउने नाममा महिलालाई देखाएर व्यापार गरिन्छ ।
महिला आफ्नो चाहनाले बेस्या भएकी छैन समाजमा । आर्थिक रुपले पुरुष सरह भूमिका नभए पछि , आर्थिक रुपले आत्मनिर्भर हुन नसके पछि , जब गुजारा गर्ने उससगँ अरु बिकल्प छैन । खास गरी नेपाली समाजमा बिहे गरेर गए पछि माईत फर्कन नहुने, श्रीमानले उसलाई आर्थिक अधिकारबाट बञ्चित मात्र नगरी शारीरीक रुपमा यातना दिने सम्म गर्न थाले पछि बाध्य भएर केहि महिलाहरु डिस्को, मसाज पार्लर या कुनै प्रकारले देहब्यापारमा लागेको देखिन्छ । त्यहा पनि महिलालाई राम्रो काम र ज्यालाकै सपना देखाएर श्रममा लगाईन्छ र गलत बाटो समात्न बाध्य पार्ने गरिन्छ , जसबाट कमै महिलाले मात्र बिद्रोह गरेर अन्य पेशामा गएका छन् । केहि अझै पनि शारीरीक, मानसिक र यौन शोषणमा परि नै रहेका छन् ।यसले प्रस्ट हुन्छ समाजको आर्थिक सामाजिक अधिकार कमजोर भए पछि वा हैसियत कमजोर भए पछि महिलाले बाध्यकारी पेशाको रुपमा अपनाएको देखिन्छ शहरहरुमा । यसलाई समाजले विकृतिको रुपमा हेरेको छ । पुरुषले महिला विग्रिएको अर्थमा हेर्दछ । तर त्यही पुरुष जब साँझ पर्दछ , तब त्यही विग्रिएकी महिला खोज्दै शहरको डिस्को र दोहोरी एवं पार्लर र सडकतिर जान्छ । यो त्यसरी दुवै पक्षबीच हुने शारीरीक सम्पर्क पछि महिला बिग्रिन्छे तर पुरुष चोखै रहन्छ । उसलाई समाजले बिग्रेको देख्दैन । यो पनि पुरुष प्रधान मानसिकताको भद्धा उदाहरण हो ।
अहिले सयौं गुणाले बलात्कारका घटनाहरु बढिरहेका छन् । यो पुरुष प्रधान सामाजिक मनोविज्ञानको उपज हो । उसले महिलालाई देख्नासाथ आफ्नो मन र शरीरलाई उत्तेजित बनाउने, झम्टिने, बलात्कार गर्ने र अन्ततः उसको शरीर नै नष्ट गर्ने जुन अपराध गर्दछ त्यसको कारण पनि महिलामाथिको असमान दृष्टिकोणकै उपज हो । यौनिक प्रकृया एउटा जैबिक प्रकृया हो । यो सामान्य महिला पुरुषको रुची अनुसार हुनु पर्ने हो । तर पुरुषले महिलाको अवस्था माथि ध्यान दिने हैन कि आफ्नो आवस्यकतापुर्ति गर्ने साधनको रुपमा उसको नियन्त्रण भित्र राख्न खोज्दछ । यसको उपज पनि हो बलात्कार ।
त्यसैले महिलालाई आनुधिक दासता या पितृसत्तावादबाट मुक्त राख्ने हो भने आर्थिक, सामाजिक र राजनीतिक अधिकार र हिस्सा महिला र पुरुषको बराबर बनाईनु र लागू गर्नु पर्दछ । त्यसो भयो भने योगमायाले जस्तो विद्रोहका लागि अरुणमा हाम फाल्नु पर्ने, सासद यसोदा सुवेदीले भने जस्तो स्वस्थानीव्रत कथाको कितावको पाना च्यात्नु पर्दैन । महिला स्वतः मुक्त हुन्छन् । अथवा दोस्रो दर्जाबाट समान दर्जामा आउछन् । नत्र राष्ट्रपति बनाए पनि,प्रधानन्यायधीश , सभामुख वा उपसभामुख बनाए पनि पालिकाको उपमेयर उपाध्यक्ष बनाए पनि महिला बराबरीको स्तरमा पुग्न सक्दैनन् । साथै राजनीतिक पार्टीहरु भित्र समेत नेताको आदेशको नाममा भविष्यमा आफ्नो व्यक्तिगत लाभ गुम्ला कि भन्ने डरले महिला नेतृहरुले नै महिला मैत्री वातावरण निर्माण गर्न संघर्ष गरेको देखिदैन । यो पनि अर्को चूनौती हो ।
पितृसत्तावादको बिकल्प मातृसत्तावाद कदापी हैन । यो समाजमा बलात्कार, महिलामाथिको अत्याचार, श्रम शोषण, असमानता र उनीहरुलाई बस्तुको रुपमा बेच्ने र प्रयोग गर्ने पूजीवादी आर्थिक प्रणालीको अन्त्य नगरी समतामुलक समाज बनाउन सकिदैन । फगत आठ मार्चको दिन प्लेकार्ड बोकेर न्याय र मुक्ति पाउन कठिन छ ।

८ मार्चः नेपाल सन्दर्भ
नेपालमा महिलाहरुको पीडा सामान्य थिएन । बर्बर सामन्ति समाजले महिलाहरुलाई जिउदै जल्न आदेश दिने समाज थियो यो । त्यो राणाप्रधानमन्त्री चन्द्र शसशेरले उन्मुलन गरे । महिला स्वतन्त्रता र समानताका लागि वि.सं. १९७४ सालमा विदुषी योगमायाले आत्मदाह गरेर थालेको आन्दोलन पनि एक सय बर्ष नाघेको छ ।
त्यसरी थालिएको नेपाली महिला आन्दोलन १५ साल पछि मताधिकार पाएर अर्को सुधार ल्याउन सफल भयो । त्यस पछि खास गरी ४७ सालको संविधान,अन्तरीम संविधान र गणतन्त्र पछिको संविधानले महिलालाई केही आरक्षण, विशेषाधिकार सहित अधिकार त दिएको छ तर आर्थिक सामाजिक स्थितिमा गुणात्मक परिवर्तन आउन नसकेका कारण उनीहरुमाथिको शोषण नयाँ र भिन्न रुपले जारी छ । नेपालमा कम्युनिष्ट आन्दोलनमा पनि महिलाहरुको भूमिका उल्लेख्य छ । संस्थापक सदस्यको रुपमा चिनिने मोतीदेवी देखि सहाना प्रधान, मंगलादेवी लगायतको भूमिका उल्लेख्य छ ।
पछि माओवादी जनयुद्धमा सैन्य पक्तिमा ठुलो संख्यामा महिलाहरु लामबद्ध हुनु पनि उनीहरुमाथि शोषणको विरुद्ध विद्रोह थियो भनेर अनुमान गर्न सकिन्छ । त्यसैको फलस्वरुप ३३ प्रतिशत महिलाले ससदमा प्रतिनिधित्व गर्ने अवसर पाए । सात सालमै पनि बीपी कोइरालाको तत्कालीन मन्त्रिमन्डलमा द्वारिकादेवी ठकुरानी पहिलो महिला मन्त्री बनेकी थिईन् ।
संसदमा ३३ प्रतिशत प्रतिनिधित्व, स्थानीय तहमा महिलाको अनिवार्य उपस्थिति राष्टपति महिला, प्रधानन्यायधीश महिला, सभामुख महिला जस्ता अवस्थाले देशमा महिलाले अधिकार पाएको राजनीतिक विकास भएको केही संकेत दिन्छ ।
तर किन समाजमा अझै पनि बलात्कार, हत्या, बोक्सीको आरोप, दाईजो नल्याएको निहुँमा यातना , आर्थिक असमानता र विदेभ कायम छ त ? यसको कारण पहिल्याउनै पर्दछ ।

समग्रमा भन्दा सामन्ति मध्ययुगमा घरेलु दास, नोकर्नि र सुसाहारेका रुपमा राखिने महिलाहरु अहिले बेस्या,कामदारका नाममा शोषित भइरहेका छन् । सुन्दरीका नाममा शोषित भईरहेका छन् । यसबाट पूर्ण मुक्ति बाहेक महिलाको स्वतन्त्रता र समानताको अर्को विकल्प छैन । महिलामाथि पुरानो मध्ययुगिन र सामन्ति शोषणको स्वरुप बदलिएको छ । उनीहरुलाई घरैमा कैद गर्ने,राजनीतिक अधिकार नदिने, सुसाहारे र नोकर्नी बनाउने, बहुबिबाह गरेर दमन गर्ने संस्कार हट्दै गएर संवैधानिक तथा राजनीतिक अधिकार दिए पनि, उनीहरुको कार्यकारी भूमिका पुरुष प्रधान समाजको विम्ब रहित हुन नसक्ने, आर्थिक रुपले अझै परनिर्भर नै राखिरहने, महिलालाई केवल भौतिक रुपमा सुन्दरी देखाउने, विज्ञापनमा बस्तुको रुपमा प्रयोग गर्ने,बलात्कार र देह बेच्न बाध्य पारेर यौन शोषण गर्ने संस्कार र अवस्थाको जुन विकास हुदै गएको छ । यो आधुनिक पितृसत्तावादको नमुना हो । यसका बिरुद्ध नयाँ खाले संघर्ष गरौैँ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी