जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान सोमबार ९आज०देखि झापाबाट सुरु हुँदैछ । अभियानको उद्घाटन समारोहमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू आइतबार बेलुका झापा पुगिसकेका छन् ।
आज कचनकवलको बनियानी बजारमा अभियानको औपचारिक उद्घाटन हुने छ । त्यसपछि आजै झापाको राजगढ र झापा बजारमा कार्यक्रम हुनेछ ।
उद्घाटन सभारोहपछि भेटघाट, अन्तरक्रिया र कोणसभाहरु गर्दै अभियान अघि बढ्नेछ ।
पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । बैठकले वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको संक्षिप्त समीक्षा, राष्ट्रिय परिस्थितिमा आफ्नो पार्टी नेतृत्वको सरकारले सुशासनको निम्ति भ्रष्टाचार विरुद्व अभियान सुरु गरेको र त्यही क्रममा भ्रष्टहरूले रातारात सरकार परिवर्तन गरेको निष्कर्ष निकालेको थियो ।
मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति–कार्यक्रमलाई जनस्तरसम्म पुयाउने, माओवादी पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझाव सङ्कलन गर्ने, जनता र पार्टी नेतृत्वबिचको सम्बन्ध विस्तार गर्ने आदि उद्देश्यलाई केन्द्रविन्दु बनाएर अभियान राखिएको प्रवक्ता सापकोटाले बताए ।
२०८४ को निर्वाचनमा माओवादी आफ्नै खुट्टामा उभिने हिसाबले यस्ता अभियान सञ्चालन गरेको माओवादीले जनाएको छ ।
हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान, मध्यपहाडी लोकमार्ग, हिमाल–पहाड केन्द्रित अभियानले पार्टीलाई जरैदेखि बलियो बनाउने प्रचण्डले बताउदै आएका छन् ।
कोशी प्रदेशका इन्चार्जसमेत रहेका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई बलियो बनाउन अभियानमा जोड दिने हिसाबले पूर्व–पश्चिम तराई–मधेस जागरण अभियान राखिएको दाबी गरे ।
पछिल्लो पटक सरकारमा बसेर माओवादीले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गरेको गजुरेलको दाबी छ ।
संसदको दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर असार ३१ गते सरकार बनाएपछि माओवादी प्रतिपक्षमा पुगेको हो । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनपछि हरेक निर्वाचनमा धक्का खाँदै आएको माओवादी गत मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा मत र सिट दुवै बढाउन सफल भएको थियो । त्यसबाट पनि माओवादी उत्साहित रहेको छ ।
अभियानको कार्यतालिका अनुसार एक दिन एक जिल्लामा कार्यक्रम राखिएको छ । अभियानको स्वरूप जनसभा, चोकसभा अन्तर्क्रिया, जनभेटघाट आदि हुनेछ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने छ ।
कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रम आयोजना हुने कार्यतालिकामा उल्लेख छ ।
अभियान टोलीमा सहभागी पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मी रहने जनाइएको छ ।
अभियानका लागि स्वयंसेवकको व्यवस्था सम्बन्धित प्रदेश समितिले गर्नुपर्ने छ । साथै स्थानीय विशेषता सहितका सांस्कृतिक टोलीहरू, स्थानीय भेषभुषा, झाँकीहरू, स्थानीय पार्टी समितिले तय गर्नुपर्ने छ ।
अभियानको व्यवस्थापन सम्बन्धित प्रदेश इञ्चार्जको नेतृत्वमा सम्बन्धित जिल्ला पार्टीहरूले गर्ने छन् ।
यो अभियान प्रतिगमनको खतरा बिरुद्ध जागरण पैदा गर्न, शुसासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न, दलाल, तस्कर र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारको भण्डाफोर लगायतका सरकारी गतिविधिको भण्डाफोर गर्ने लगायतका लक्ष्य राखिएको छ ।
यस्तो छ अभियानको कार्यतालिका
कोशी प्रदेश
झापा– फागुन १२ गते
मोरङ– फागुन १३ गते
९फागुन १४ गते शिवरात्रि भएकाले विश्राम०
सुनसरी– फागुन १५
मधेस प्रदेश
सप्तरी– फागुन १६ गते
सिरहा– फागुन १७ गते
धनुषा– फागुन १८ गते
महोत्तरी– फागुन १९ गते
९फागुन २० गते प्रचण्ड थारु मोर्चाको सम्मेलनको उद्घाटन गर्न कैलालीको टीकापुर जाने भएकाले एक दिन अभियान नचल्ने
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते
बागमती प्रदेश
चितवन– फागुन २५ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व) – फागुन २६ गते
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन २७ गते
रुपन्देही– फागुन २८ गते ।
कपिलवस्तु– चैत २ गते
दाङ– चैत ३ गते
बाँके– चैत ४ गते
बर्दिया– चैत ५ गते
सुदूरपश्चिम प्रदेश
कैलाली– चैत ६ गते
कञ्चनपुर– चैत ७ गते समापन