पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्नुपर्ने बताएका छन्।
कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्नुपर्ने बताए।
‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ, बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन। तपाईंहरूले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,’ कुलपति ओलीले भने ।
‘
उनले सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो नहुने बताए। ‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन। हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस्। साहसी हुनुस्, दुस्साहासी नहुनुस्,’ उनले भने, ‘हामीसँग उर्वर भूमि छ। यसलाई रूपान्तरणकारी विकासमा लैजान सकिन्छ। यस काममा विश्वविद्यालय लागोस्। सरकार विश्वविद्यालयको साथमा छ।’
समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराए।