फाल्गुन ६, काठमाडौँ । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले लम्सालको न्यायका लागि विरोध प्रदर्शन गरेको हो । उनीहरूले माइतिघर मण्डलामा मंगलवार नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साललगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् । यस्तै नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन (नेविसङ्घ) पब्लिक युथ कलेजले पनि लम्सालको न्यायका लागि विरोध प्रदर्शन गरेको हो ।
भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको रहस्यमय निधन भएपछि सोमबारदेखि विश्वविद्यालय तनावग्रस्त छ ।
नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालेपछि अवस्था झनै तनावग्रस्त बनेको थियो । तर नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक पहल गरेर नेपाली विद्यार्थीलाई छात्रावासमै राखेर अध्ययन गराउने बारेमा सहमति भएको बताएको छ ।
यसैबीच, कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको छ ।
विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि क्याम्पस प्रशासन र सुरक्षा कर्मचारीले दुर्व्यवहार र कुटपिट गरेका थिए । बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको हो ।
मंगलबार विश्वविद्यालयले उक्त घटनाबारे फलोअप सूचना जारी गर्दै दुई जना सुरक्षा गार्डलाई बर्खास्त गरिएको जानकारी दिएको छ । त्यस्तै छात्रावासका दुई जना उच्च अधिकारी र एक जना प्रशासन अधिकृत पनि घटनाको छानबिन नहुन्जेलसम्मका लागि बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ ।
अहिले विश्वविद्यालयले विद्यार्थीलाई फर्काउन पहल गरिरहेको समेत जनाएको छ । त्यस्तै नेपाली विद्यार्थीको सुरक्षाका लागि सधैं प्राथमिकता दिएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै नेपाली विद्यार्थीमाथि कर्मचारीले दिएका अपमानजनक अभिव्यक्तिप्रति पनि विश्वविद्यालयले माफी मागेको छ ।
नेपाली विद्यार्थीहरूका अनुसार लम्सालमाथि भारतीय विद्यार्थी आद्धिक श्रीवास्तवले बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए । असह्य भएपछि लम्सालले आत्महत्या गरेको उनीहरूको भनाइ छ । यसअघि लम्सालले समेत आफूमाथि दुर्व्यवहार भएको भन्दै श्रीवास्तवविरुद्ध विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उजुरीको सुनुवाइ नगरेको नेपाली विद्यार्थीको भनाइ छ ।
दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि अनुसन्धान तथा कारबाहीको माग गर्दै उजुरी दिन गएका विद्यार्थीमाथि केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर दमन गरेको नेपाली विद्यार्थीले बताएका छन् ।
विद्यार्थीको प्रदर्शन चर्केपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई तत्काल छात्रावास छाड्न सूचना जारी गरेको थियो । केआईआईटीका रजिस्ट्रारले जारी गरेको सूचनामा नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि तत्काल छात्रावास छाड्न भनिएको छ ।
नेपाली विद्यार्थीलाई निष्कासन गरिएको खबर बाहिरिएपछि फिर्ता बोलाउन विश्वविद्यालय प्रशासनमाथि चौतर्फी दबाब परेको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासले कूटनीतिक च्यानलमार्फत र सिधै विश्वविद्यालयसँग संवाद गरेपछि कलेज प्रशासनले विद्यार्थीलाई छात्रावासमा फर्कन सूचना जारी गरेको छ ।