दाङ फागुण ५ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धेरै बकबास गरेर हिँडिरहे धेरै षड्यन्त्रको पर्दाफास गरिदिने चेतावनी दिएका छन् ।
दाङको घोराहीमा नेकपा एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले सत्ताबाहिर पुगेपछि माओवादी अध्यक्ष प्रचण्डले आत्तिएर अनेक आरोप लगाएको उनको टिप्पणी थियो।
लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका र उनीहरू नै लोकतन्त्रका मसिहा बनेका भन्दै प्रधानमन्त्री ओलीले चेतावनीको भाषामा भने, ‘माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मास्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको थियो। त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिन सुहाउँदैन। धेरै बकबास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस्।’