३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिचौलियाको प्रभावमा परेर सरकारले अध्यादेश ल्याएकाले समर्थन गर्न नसक्ने बताएका छन् । पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले भूमिसम्बन्धी अध्यादेशमा सबैभन्दा बढी आपत्तिजनक रहेको बताएका हुनु।
संसद्को अधिवेशन बोलाउने बेला सरकारले विधि मिचेर अध्यादेश ल्याएको बताउदै अध्यक्ष नेपालले भने, ‘संसद्को अधिवेशन बोलाउने बेलामा सरकारले अध्यादेश ल्यायो । संसदीय समितिमा विचाराधीन विधेयकहरू छन् । तिनलाई समेत मिचेर अध्यादेश आएको छ, यी अध्यादेश बिचौलियाको प्रभावमा परेर ल्याइएको हुनाले हाम्रो पार्टीले समर्थन गर्न सकेन ।’
उनले संसद् अधिवेशन बोलाउन ढिलाइ भइसक्दा पनि नबोलाउने र हतार हतार अध्यादेश ल्याउने कामबाटै सरकार बिचौलियाको प्रभावमा परेको छ भन्ने पुष्टि हुने तर्क गरे ।
सरकारले हालै दर्ता गराएको सामाजिक सञ्जाल नियमन विधेयकमा पनि गलत नियत रहेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विधेयक पारित भए अनलाइन सञ्चारमाध्यमहरूले कसेको आलोचना गरेर समाचार लेख्नसमेत नपाउने दावी गरे । आलोचना गरेर समाचार लेखे त्यस्ता सञ्चारमाध्यमलाई आर्थिक जरिवाना र जेलसम्मको दण्ड दिने नियत सरकारको रहेको उनको भनाइ थियो ।