३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूमिसम्बन्धी अध्यादेश ब्रह्मलुट मच्चाउनका लागि ल्याइएको आरोप लगाएका छन् ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा नेता खनालले भूमिसुधार गर्ने उद्देश्यले नभई ब्रह्मलुट मच्चाउने उद्देश्यले भूमिसम्बन्धी अध्यादेश ल्याइएको बताएका हुन् ।
‘यो सरकारले भूमिसुधारका लागि भूमिसम्बन्धी अध्यादेश ल्याएको होइन, ब्रह्मलुट मच्चाउन ल्याएको हो,’ भूमिसुधारको चाहना हुन्थ्यो भने विगतमा दुईतिहाइको असाधारण सरकारको नेतृत्व गरेका बेला नै ल्याइसक्थे ।’
जनताले अपूर्व शक्ति दिएका बेला क्रान्तिको कमजोरी हटाउन सकिन्छ कि भन्ने सम्भावना देखिएको थियो खनालले भने, ‘त्यो बेला हामीले वैज्ञानिक भूमिसुधार गर्न सक्थ्यौं । अहिले त अध्यादेश ल्याएर ब्रह्मलुट गर्न खोजिएको छ । यो ब्रह्मलुटको अध्यादेश हो ।’
उनले त्यसबेला दुई पार्टी मिलेर बनेको नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हीरा नचिनेको चर्चा गर्दै ब्यङ्ग्य गरे, ‘हीरा नचिन्नेले चम्किने ढुंगा रहेछ भनेर फ्याकिदिएजस्तो भयो दुईतिहाइ ।’
खनालले संविधान बनेपछिको पहिलो आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर निर्वाचनमा जाँदा दुईतिहाइ जनमत प्राप्त गरेको सन्दर्भ कोट्याउँदै त्यसरी बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरे ।
‘२० वर्षको अनुभव हेर्यो भने देखिन्छ, वामपन्थी आन्दोलनमा प्रवेश गरेको दक्षिणपन्थी अवसरवादले पार्टीलाई कसरी सिध्यायो । जनताले दुईतिहाइ बहुमत दिए तर बादरको हातमा नरिवलजस्तै भयो, दुइतिहाइको शक्ति । त्यसलाई तुहाउने काम भयो,’ खनालले भने ।