सत्ताको एक घटक लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिने तयारी गरेको छ। भूमीसम्बन्धि अध्यादेशको विषयलाई लिएर लोसपा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको छ ।
लोसपाले बुधबार प्रेस बिज्ञप्ति निकाली भूमीसम्बन्धि अध्यादेशलाई समर्थन गर्न नसकिने जनाएको थियो । पार्टी अध्यक्ष महन्थ ठाकुरले बिहीबार सर्लाहीमा बोल्दै आफुले श्रममन्त्री शरदसिंह भण्डारीलाई राजीनामा दिने अवस्था आउनसक्ने भनेर निर्देशन दिइसकेको बताए।
आफुहरुसँग सल्लाह नगरी सरकारले अध्यादेश ल्याएको उनको भनाई छ ।
उता जसपा नेपालले पनि भूमि सम्बन्धि अध्यादेशलाई समर्थन गर्न नसकिने निर्णय गरेको छ । जसपा नेपालले समर्थन नगर्दा अध्यादेश राष्ट्रिय सभाबाट पारित हुने संभावना छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाले उपेन्द्र यादवलाई पटक पटक फकाए पनि अन्ततः यादव नेतृत्वको जसपाले भूमि सम्बन्धि अध्यादेशमा समर्थन जनाउन नसक्ने निर्णय सुनाएको थियो ।
त्यसपछि सरकारले संसद शुरु हुनु अघि ल्याएको अध्यादेश संसदको दुबै सदनमा पेश गर्न सकेको छैन ।
प्रतिनिधि सभाबाट यो अध्यादेश पारित भए पनि राष्ट्रिय सभाबाट पारित हुन नसक्ने अवस्था छ ।
राष्ट्रिय सभाको सबै भन्दा ठूलो दल माओवादी केन्द्रले सदन छलेर अध्यादेश ल्याएको भन्दै बिरोध जनाउदै आएको छ ।