त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। शनिबार सिरिजको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो।
नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले ६ विकेट गुमाएर ६ बल बाँकी छँदै पुरा गरेको थियो । लगातार दुई हारपछि घरेलु टोली नेपालमाथि दबाब बढेको छ ।
थाइल्याण्डको जितमा नन्नापात कोन्चरोएन्काइले ६० रन बनाइन्। उनले ५८ बलमा ६ चौका हान्दै नट आउट रहिन्। कप्तान नारेउमल चाइवाइले १३ र सुवानन खियाओटोले १४ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालकी मनिषा उपाध्यायले तथा कविता कुँवर, रूविना क्षेत्री र कविता जोशीले एकरएक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १०१ रन बनाएको थियो।
नेपालका लागि कविता कुँवर र बिन्दु रावलले २५÷२५ रन बनाए। कप्तान इन्दु बर्माले १५ रन बनाउँदा अन्यले उल्लेख्य रन बटुल्न सकेनन् ।
बलिङतर्फ थाइल्याण्डकी थिप्ताचा पुथाओङले तीन विकेट, फनिता माया र नट्टाया बुचथमले २र२ र चनिदा सुत्थिरूवाङले एक विकेट लिइन्।
जितसँगै थाइल्याण्ड जारी सिजनमा दुवै खेल जितेर बलियो अवस्थामा छ। यसअघि उसले पहिलो खेल नेदरल्याण्ड्सलाई हराएको थियो।
पहिलो खेलमा नेदरल्याण्डस्ले नेपाललाई हराएको थियो । अब तीनै टिमले एक÷एक खेल खेल्नेछन्।