केही महिना अघि, म र मेरो दाइले स्कुटरमा यात्रा सुरु गर्यौं। यो यात्रा कुनै रमाइलोका लागि भने थिएन। हाम्रो उद्देश्य थियो त्रिशुली नदीको अवस्था नजिकबाट हेर्ने र यसले सामना गरिरहेका समस्याहरू आफैं अनुभव गरेर बुझ्ने।
यात्रा निकै कठिन थियो, बाटो पनि खराब थियो। यात्राको अन्त्यमा, मेरो मनमा एउटै मात्र विचार थियो: यदि त्रिशुली मानव हुन्थिन् भने, मानिसहरूले जति पटक उनको शोषण गरे, फोहोर फाले र उत्खनन गरे, उनी प्रत्येक पटक रोन्थिन्। र एक दिन यस्तो आउनेछ जब त्रिशुलीको आँसुले हामी सबैलाई पोल्नेछ।
हामीले काठमाडौंबाट यात्रा सुरु गर्यौं। पहिलो दिन, टोखा-नुवाकोट मार्ग हुँदै त्रिशुली बजारसम्म पुग्यौं। हामीलाई लाग्थ्यो कि यो यात्रा गर्दा त्रिशुलीको दृश्यहरू देख्न पाइन्छ र शायद सोचे जस्तो त्रिशुलीलाई धेरै शोषण गरिएको छैन होला। तर त्रिशुली बजारमा पुगेपछि, हामीले नदीलाई भवन र संरचनाहरूको बीचमा चेपिएको देख्यौं। वरपरका भवनहरूले नदीलाई चेपेजस्तो लाग्यो, कंक्रीट र स्टीलको तौलमुनि संघर्ष गरिरहेको शक्तिशाली नदी नाजुक देखिन्थ्यो। यो देख्दा मेरो मनमा एउटा प्रश्न आयो: यदि त्रिशुली बाढी आयो भने के होला? नदीले आफ्नो ठाउँ पुनः प्राप्त गर्न खोज्दा बाढीको सोचले डर लाग्यो। मानव प्रगति र नदीको अवस्थाबीचको असंगति आश्चर्यजनक थियो।
त्रिशुली बजारपछि, हामीले त्रिशुली जलविद्युत् बाँध पनि भ्रमण गर्यौं। सुरुमा, म प्रभावित भएँ किनभने मैले पहिलो पटक नजिकबाट अवलोकन गरिरहेको थिएँ, तर छिट्टै असन्तुष्टिमा बदलियो। जलविद्युत् परियोजनाहरूले नदीलाई साँघुरो बनाउँदै, यसको आकार र बहाव परिवर्तन गर्दै, र प्राकृतिक पारिस्थितिकी प्रणालीलाई बिगार्दै छ। परियोजनाहरूले पर्यावरणीय क्षति कम गर्न पर्याप्त कदम चालिरहेका छन् कि छैनन् भन्ने कुराले मलाई चिन्तित बनायो। राज्यले त्रिशुलीबाट कमाई गरिरहेको छ, तर राज्यले त्रिशुली बचाउन कति लगानी गरिरहेको छ?
हाम्रो दोस्रो स्टप देवीघाट थियो। प्रवेशद्वारमा ठूला अक्षरमा लेखिएको थियो: “प्लास्टिक निषेध।” तर ठूला अक्षरहरूको ठीक तल प्लास्टिक थियो। यो हाम्रो देशको ट्रेडमार्क कल्चर जस्तो लाग्यो – सबै कुरा लेखिन्छ तर पालना केही हुँदैन। अब कलीयुगमा हामीले भगवानलाई पनि प्लास्टिक चढाउन थालेका छौं, त्यसैले देवीघाट जस्तो पवित्र स्थानमा पनि प्लास्टिक मात्र देखिन्छ।
हामी हाम्रो यात्रालाई गल्छीतर्फ जारी राख्यौं र बाटोमा केही खानको लागि रोकियौं। त्यहाँ रोक्नुअघि, हामीले त्रिशुलीको दुई सहायक नदीहरू, तादी खोला र लिक्खु खोला पनि देख्यौं। तर जब हामी लिक्खु खोला पार गर्दै थियौं, नदी किनारमा प्लास्टिक र फोहोरको दुःखद दृश्य देख्यौं। जहाँ खान रोक्यौं, त्यहाँको होटलको दाइले भन्नुभयो, “कसैलाई वास्ता छैन भाइ, तिमीहरू नै वास्ता गर्दैछौ। सरोकारवाला निकायले नदीको अवस्थाको बारेमा वास्ता गर्दैनन् र यसलाई सुधार गर्न केही गर्दैनन्। यहाँ माछा छैन भाइ, फोहोर मात्र छ। लिक्खु खोलामा अवस्था गम्भीर छ भाइ।” खाना खाएपछि, हामीले हाम्रो यात्रा जारी राख्यौं। मानिसहरूको स्वार्थी स्वभावको सीमा देख्यौं। धेरै बालुवा र गिटी खानीहरू पार गर्दा, उनीहरूले नदीलाई चोट पुर्याउँदै बालुवा धोएको फोहोर पानी सिधै नदीमा मिसाइरहेका थिए। डोजरहरूले नदीको हरेक अंशलाई जथाभावी खोतलिरहेका थिए, जस्तो कि उनीहरूले नदीको अन्तिम सास समेत निकाल्न खोजिरहेका हुन्। देख्नुपर्नेहरूले आँखा चिम्लिए पनि, अरूले देखून् वा नदेखून्, हामीले यस निर्दयीता स्पष्ट देख्यौं।
त्यो दिनको अन्त्यमा, गल्छी पछाडि हामीले घरहरूको पछाडि बग्ने सानो खोलालाई प्रदूषित अवस्थामा फेला पार्यौं। सायद सानो खोला नहो भन्ने सोचेर सबै घरहरूले आफ्नो फोहोर पानी सिधै त्यही खोलामा छाडेका थिए। त्यो मात्र होइन, सिधै ढल पनि मिसाएका थिए। यसरी त त्यहाँ बस्नेहरूको स्वास्थ्यमा पनि हानी पुग्नुपर्छ। त्यो उनीहरूलाई थाहा हुनुपर्छ तर कसैलाई वास्ता छैन। सानो खोला भए पनि, यो खोला घरहरूको पछाडि बग्दै अन्ततः त्रिशुलीमा मिसिन्छ। यो दृश्यले मानव सभ्यता र जिम्मेवारीको कमीलाई स्पष्ट पार्थ्यो। यसले देखायो कि कसरी साना खोलाहरू दुरुपयोग हुँदैछन् र वातावरणीय समस्या बढ्दैछन्।
अर्को दिन खाजा खाँदा, हामी एउटा होटलको बार्दलीमा बसिरहेका थियौं र त्रिशुलीको गर्जन सुन्दै थियौं। अचानक, टाढाबाट आएको बाटो निर्माणको आवाजले हाम्रो ध्यान तान्यो। होटलबाट, हामीले देख्यौं कि निर्माणक्रममा निस्केको माटोको मलवा सिधै त्रिशुलीमा फालिरहेको थियो। तर यहाँ कुरा एउटा निर्माणको मात्र होइन। अहिले भइरहेको पृथ्वी राजमार्गको स्तर सुधार निर्माण, त्यसपछिका आसपासका पहाडहरूमा हुने गाउँ जाने बाटोको निर्माण सबैको मलवा त्रिशुलीलाई उपहार दिइरहेका छन्। गाउँ जाने बाटो पनि जानाजानी अनुचित रूपमा बनाइन्छ। आफ्नो राजनीतिक समर्थकको घर अगाडि बाटो खोल्न, बाटो वैज्ञानिक तरिकाबाट नभई आफ्नो तरिका अनुसार बनाइन्छ। यो दृश्यले समाजको विकासको गलत अर्थलाई देखाउँछ, जहाँ राजनीतिक एजेन्डा पूरा गर्न प्रकृति र वातावरणलाई बेवास्ता गरिन्छ।
त्यसपछि हामीले देवघाटतर्फ हाम्रो यात्रा जारी राख्यौं। त्रिशुली धेरैका लागि आम्दानीको स्रोत भएको स्पष्ट छ। बाटोमा त्रिशुलीमा भइरहेको राफ्टिङ पनि देख्यौं। तर आदमघाट नजिक, हामीले एउटा आक्रोशजनक दृश्य देख्यौं। एउटा ट्रकले फोहोर उठाएर त्रिशुलीको किनारमा फालिरहेको थियो, र त्यो ट्रक स्थानीय सरकारको व्यवस्थामा चलाइएको थियो। गाउँभरिको फोहोर उठाएर त्रिशुलीमा फाल्नु कति सजिलो! रक्षक नै विनाशक भएको यही हो।
हाम्रो अवलोकनका आधारमा, लगभग ९५% होटलहरूले उनीहरूको भवनको पछाडि सिधै नदीमा फोहोर फालिरहेका छन्। होटल मात्र होइन, स्थानीय बासिन्दाहरू पनि त्यस्तै गर्छन्। धेरै घरहरू खोलाको धेरै नजिक बनाइएका छन् र उनीहरूले सिधै ढल खोलामा मिसाउँछन्। केही ठाउँमा त सेप्टिक ट्यांकी नै फुटेर ढल खोलामा लिक भएको देख्न सकिन्छ। हामीले देख्यौं, तर जसले देख्नुपर्ने उसले देखेको छैन कि देख्न चाहेको छैन?
भारी मन र धेरै कुरा मनमा खेलाउँदै, हामी देवघाट पुग्यौं। देवघाट निक्कै पवित्र ठाउँहरू मध्ये एक हो। मैले सोचेको थिएँ कि यहाँ कम प्रदूषण होला वा छैन होला। तर, हाम्रो आशा विपरीत, त्यहाँ प्लास्टिकको अत्यधिक प्रयोग देख्यौं। प्लास्टिकका बोतल र झोलाहरू किनारामा छरिएका थिए, जसले वातावरणलाई दुषित बनाएको थियो। यो दृश्य देखेर, कम्तीमा अहिलेका लागि यस्ता ठाउँहरूमा प्लास्टिकको प्रयोग रोक्न तत्काल कदम चाल्न आवश्यक छ भनी स्पष्ट भयो। सायद सुरुवातका लागि यो एउटा राम्रो कुरा हुन सक्छ। देवघाट धामको त्रिवेणीमा, जहाँ त्रिशुली र कालिगण्डकी मिलेर नारायणी बन्छ, हामीले एउटा आश्चर्यजनक कुरा पत्ता लगायौं। आश्रमका मानिसहरू अझै पनि कालिगण्डकीको पानी पिउँछन्, तर त्रिशुलीको पानी पिउँदैनन्। किनभने कालिगण्डकी किनारमा कम मानिसहरू बस्छन्, त्यसैले यो कम प्रदूषित छ। तर, यसको विपरीत, त्रिशुलीको पानी धेरै नै प्रदूषित छ, स्पष्ट देखिन्छ।
यो सबै देखेपछि, अब स्पष्ट भयो कि त्रिशुली धेरै नै शोषित छ। त्यसपछि हामी काठमाडौं फिर्ता हुने यात्रा सुरु गर्यौं। बेनीघाटमा एक दिन रोकेर, हामीले स्थानीयहरूसँग कुरा गर्यौं। स्थानीयहरूको अनुसार, एक समय त्रिशुली नदी जीवन र गौरवको स्रोत थियो, तर अहिले यो डम्पिङ ग्राउन्डमा परिणत भएको छ। पहिले बोटबाट त्रिशुली पार गर्दा सिधै तल बालुवाको कण पनि देखिन्थ्यो रे, तर अहिले त पानी निकै धमिलो छ।
समस्याहरू स्पष्ट छन्: लापरबाही, बेवास्ता र स्वार्थपन। प्लास्टिक र ढलले नदीलाई प्रदूषित बनाएको छ, जसमा स्थानीय सरकारको पनि योगदान छ। होटलहरूको अनुगमन हुँदैन र उनीहरूले फोहोर डम्प गर्न त्रिशुली जस्तो सजिलो उपाय अरू केही छैन भनी सोचीकन नदीमा फोहोर फालिरहेका छन्। त्रिशुलीको त वास्ता छैन, झन् साना खोला त कसैलाई वास्ता हुने कुरै छैन, त्यसैले सबै साना खोलाहरूमा पनि यस्तो नै भइरहेको छ। साथै, पृथ्वी राजमार्ग हुँदै हिँड्ने यात्रुहरूले पनि फोहोर बाटोमै फाल्छन्, जुन अन्ततः त्रिशुलीमै जान्छ। मुख्य समस्या भनेको व्यक्तिगत लाभका लागि अनियमित उत्खनन हो। जति सक्दो धेरै कमाउने, कमाई आफ्नो पोल्टामा राख्ने, अनि कसैले विरोध गरे धम्की दिने, गुन्डा लगाउने, नभए आफ्नो शक्ति देखाउने समेत गरिएको छ भन्ने सुन्न आएको छ।
अन्तमा, जब हामी प्रकृति विरुद्ध अनाधिकृत कदम चाल्छौं, प्रकृतिले पनि एक दिन आफ्नो क्रोध देखाउँछ। त्यस अघि नै, हामीले आफ्नो गल्ती सुधारेर त्रिशुलीलाई बचाउनुपर्छ।