धरौटी रकम बुझाएर अदालतबाट निस्किए रवि लामिछाने

धरौटी रकम बुझाएर अदालतबाट निस्किए रवि लामिछाने

  • बिहिबार, पुस २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् । न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो ।
सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् । प्रहरीका अनुसार उनलाई आजै मेडिकल जाँच गराएर छाड्ने तयारी छ । रविले भोलि काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने प्रहरीलाई बताएका छन् । सोही अनुसार उनलाई रिहा गर्न लागिएको एक प्रहरी अधिकारीले बताए ।
सभापति लामिछानेसहित सोही प्रकरणका छविलाल जोशी र रामबहादुर खनाललाई पनि मेडिकल जाँचका लागि लगिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् । आदेशमा भनिएको छ, ‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।’

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकको राति काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्‍याएको थियो । भोलिपल्ट शनिबार परेकाले ४ गते आइतबार मात्र म्याद लिनका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।
त्यसयता पटकपटक म्याद थप्दै हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले सात पुसमा उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीनवटा मुद्दा दर्ता गराएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँँच रुपैयाँ बिगो दाबी गरेको छ । त्यसयता अदालतमा अभियुक्तहरूको बयान तथा वादी र प्रतिवादीको तर्फका वकिलको थुनछेक बहस चलिरहेको थियो ।
सहकारी समस्याबारे छानबिन गर्न सत्तारुढ नेकपा एमालेका सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा बनेको संसदीय विशेष समितिले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकम अपचलनमा लामिछानेलाई दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

तत्कालै मन्त्रिपरिषद् बैठकले संसदीय समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएपछि कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो ।

त्यसक्रममा प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले ६ असोजमा ‘जरुरी पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । पोखराको सूर्यदर्शनसमेतका सात सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय समितिको अनुसन्धानबाट खुलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी