२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।
अंकतालिकामा काठमाण्डु ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ । त्यस्तै लुम्बिनी ५ खेलमा समान २ अंक भएपनि नेटरनरेटका आधारमा काठमाण्डुभन्दा एक स्थानमाथि पाँचौंमा छ ।
यहाँबाट लुम्बिनीको प्लेअफ सम्भावनाको झिनो आशा बाँकी नै रहँदा काठमाण्डुलाई पनि जित्नुपर्ने दबाब हुनेछ । आजको खेलमा लुम्बिनी विजयी भएमा प्लेअफको आशा बाँकी नै रहनेछ भने काठमाण्डुलाई धक्का लाग्ने छ ।
काठमाण्डु विजयी भएमा प्लेअफको दौडमा ठुलो सहयोग पुग्ने छ भने लुम्बिनी बाहिरिने छ । त्यसैले आजको यो खेल दुवै टोलीका लागि महत्वपुर्ण छ ।
काठमाडौंले अब लुम्बिनीपछि जनकपुर, पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।
उता लुम्बिनीको अवस्था भने आफ्नो सबै खेल जितेर अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ । लुम्बिनीले पाँचौं खेलमा आएर मंगलबार जित निकालेको थियो ।
पौडेलले अलराउण्ड प्रदर्शन गर्दै खेल जिताएका थिए ।
लुम्बिनीले अब काठमाण्डुपछि कर्णालीसँग खेल्न बाँकी छ । लुम्बिनीलाई दुईवटै खेल जित्नुपर्ने दबाब छ ।