सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सले भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवनलाई बिदाइ गरेको छ। सोमबार स्वदेश फर्कन लागेका धवनलाई कर्णाली याक्सका व्यवस्थापक, प्रशिक्षक र खेलाडीहरूले बिदाइ गरेका हुन्।
कर्णाली याक्सको टिम बसेको होटल हिल्टनमा टिमका खेलाडीहरूले धवनसँग बिदाइ भेट गरेपछि उनी त्रिभुवन विमानस्थल पुगेर भारत फर्किएका हुन्।
शिखर धवन एनपिएलमा कर्णाली याक्सबाट कम्तिमा चार खेल खेल्ने सम्झौता गरेर नेपाल आएका थिए।
कर्णालीले चौथो खेल आइतबार खेलेको थियो। शिखरले बाँकी खेलमा घुँडाको समस्याका कारण खेल्न नसक्ने बताएपछि कर्णालीले बिदाइ गरेको हो। भारत फर्किनुअघि उनी सगरमाथा आधारशिविर पुगेका थिए।
एक खेलबापत ३० हजार अमेरिकी डलर पाउने गरी कर्णाली याक्समा सम्झौता गरेका धवनले कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार आफ्नो चौथो खेल खेले।
शनिबार विराटनगर किंग्सविरूद्धको खेलको बीचमा टेलिभिजन लाइभमा बोलेका धवनले आफ्नो घुँडाले साथ दिएमा अर्को सिजन खेल्न आउने बताए। उनले एनपिएलमा नेपाली खेलाडीको प्रदर्शनको पनि प्रशंसा गरेका थिए।
उनले बाँकी खेलमा घुँडाकै समस्याका कारण खेल्न नसक्ने बताइएको छ।
एनपिएलकै बीच आफ्नो ३९ औं जन्मदिन मनाएका धवनले त्रिवि मैदानमा पनि छुट्टै माहोल सिर्जना गरेका थिए। जन्मदिनको भोलिपल्ट विराटनगरविरूद्ध खेल्दा फ्यानहरूले ठूलो हुटिङ गरेर शुभकामना समेत दिएका थिए। उनी त्रिवि मैदानको माहोलमा निकै रमाएका थिए।