काठमाण्डौ-केरुङ रेल यात्रा

काठमाण्डौ-केरुङ रेल यात्रा

  • शनिबार, मंसिर २२, २०८१
  • डा. पदमराज कलौनी

  • 6.3K
    SHARES

सहकार्य सहयोग कि अनुदान भन्दा भन्दै बहुप्रतिक्षित बहुचर्चित स्वप्नधारी काठमाण्डौँ-केरुङ रेलवेको यात्रा गर्ने अवसर पाएँ । परियोजना कति छिटो सम्पन्न भए छ थाहै भएन । यसले देशकै मुहार फेरिएछ । अहिलेको स्थिर सरकारले काठमाण्डौ-केरुङ रेल यात्रा ४५ मिनेटको बनाइ छाडेछ । निर्वाचनमा गरेका वादाहरु पानीका फोका जस्तै हुन्‌ तर रेल भने चलाएछन्‌ । नेपाली विज्ञहरुले खोला खोल्सीमा रेलपथ निर्माण गरी वाहवाही कमाएका छन्‌ । तीव्र गतिको रेल पहाडको ढाड भाँचेर निर्माण गरेका छन्‌ । विकट डाँडो फाँडो चीनलाई निकट बनाएका छन्‌ । सुरुङ र खोँचमा रेल सेवा चलेको छ । खोँच खोँचमा अग्ला पुल ! पहिला पहिला भारतका शहरहरु हामीसँग जोडिएका हुन्थे । गणतन्त्रले चीनका शहरमा सयर गर्न रेल सेवा सञ्चालन गरेको छ । नेपाली कम्युनिष्टहरु खच्चड हुन्‌ भन्नेका गालामा थप्पड बर्सिएको होला है ! नेपाली कम्युनिष्टहरु खञ्चुवा र कच्चा खेलाडी होइनन्‌ भन्ने प्रमाणित भएको छ । कच्चा होइनन सच्चा हाइब्रिड हुन्‌ । देशको आर्थिक अवस्था सुधार गरी काँग्रेसी पुच्छर भएको कम्युनिष्ट मुख्या सरकारले काठमाण्डौ-टोखा-बेत्रावती-स्याफ्रुबेसी हुँदै केरुङ रेल सेवा सुचारु गरेको छ ।

थकानमुक्त रेलयात्राले नेपाली जनजीवन रेलमय बनाएको छ । बिहान खाली झोला लिएर केरुङ जाने बेलुका झोला भरेर काठमाण्डौ आउने जोहो भएको छ । उता भारतका भैय्याहरु रेलमा पढैय्या देखिन्थे । नयाँ उपन्यास किन्थे । नवभारत टाइम्स हातमा थामेर मजाले पढ्थे । चिनियाँ अखबार कसले पढ्नु र किन्नु ! बरु रेलको झ्यालबाट आँखाले भ्याएसम्म नजर घुमाइ रहेँ । काठमाण्डौ-केरुङ र केरुङ-काठमाण्डौ यात्रामा डुब्दै गएँ । अतिरिक्त बिचार फुर्दै गए । पहिला पहिला बस स्टेसन होस्‌ कि रेलवे स्टेसनमा दक्षिणे भेटिन्थे । आया, गया, खाया कनेर बोल्नु पर्थ्यो । केरुङ पुग्दा तै चुप मै चुप ! रे वे जक्सनमा निरन्तर घुइँचो । स्टेसनमा मान्छे ढुक्कले उत्रन्छन्‌, चढ्छन्‌ । उता इन्डियातिरको रेल यात्रा कष्टकर हुन्छ । कसले कतिबेला कसले ब्याग सुइकाउने हो थाहै हुन्न । बेलाबखत सिटमुनी हेर्नु पर्छ । एक्लै यात्रा गर्दा एकजोर आँखा अनिदो भए पनि चनाखो हुनै पर्थ्यो । पिसाब फेर्ने कि ब्याग हेर्ने द्विविधा हुन्थ्यो । काठमाण्डौ-केरुङको दिनचर्या सजिलो छ । भयमुक्त छ । मजाले सुत्नुस, ब्याग कसैले लग्दैन । रेलको ध्वनियन्त्रले ठूलो ध्वनि हावामा फाल्छ । यात्रु उतार्छ उकाल्छ र गन्तव्यमा हिँड्छ । रेलको झ्यालबाट हेरेँ झट्ट रेलका पाङ्ग्रामा जबज देखिन्छ । भाइ फुटे गवार लुटे पछिको ताजा जबज ! अलि पर प्रचण्ड पथमय रङ्ग देखिन्छ । कुनाकाप्चामा वीपीवादको रङ्ग खुइलिदै गएको देखेँ । उसै पनि नेपाली वाद ठम्याउन गाह्रो छ । अखजी वादहरु खच्चडझैँ हुन्‌ । एकजनाले रेल हुनुमा ओलिज्मको करामत हो भने । सपना जसको होस्‌ नेपाली रेल चढ्न पाएको सत्य साँचो हो । संसदमा एकअर्कामा खप्टिएर वादले असली रुप चिन्न सकले सक्छ ! पञ्चे-उखाने-जङ्गले-स्वतन्त्रे-दरबारिया गुजमुज्ज परेका छन्‌ । एकअर्कामा अल्झेर गुजुल्टिएका छन्‌ । अबको शासन रेलको फ्युचरमा छ । चारैतिर हाइ हाइ छ । वाहवाही छ । नेपाली कति भाग्यवान हुन्‌ । दरबार हत्याकाण्ड ! राजतन्त्रको अन्त्य ! संघीय गणतन्त्र ! क्या बात ! खोला खोलामा पानीजहाज ! भान्सा भान्सामा ग्यासपाइड जडान छ । बैंकहरु रेमिट्यान्सले भरिएका छन्‌ । नेताहरु कुपथमा लम्केका छन्‌ । जनता कुम्भकर्ण निन्द्रामा छन्‌ । खेतीपाती बन्जरभूमिका परिणत भएको छ । बयल गाडामा सवार संघीय गणतन्त्रले देश रेलमय छ ।

रेलका कुरा ! नेपालमा रेल सेवाको सुरुवात वि. सं. १९८४ (सन्‌ १९२७) मा चन्द्र शमशेर राणाले गरेका हुन्‌ । राणा सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म रेल सेवा सञ्चालनमा गरेका थिए । अहिले उखाने रेल यात्रा काठमाण्डौ-केरुङसम्म भएको छ । संघीयता भित्रिदाए पछि रेल, पानी जहाज, डाँडामा भ्यु टावर, भान्सामा ग्यास पाइप, प्रत्येकलाई रोजगारी, उद्योगधन्दा, कलकारखाना आदि हेर्न भोग्न पाइएको छ । क्या मजाको शासन हगि ! प्रतिव्यक्ति आय बढेर हुलका हुल मान्छे विश्वका कुना काप्चामा भ्रमण गर्दैछन्‌ । केरुङ-काठमाण्डौ, काठमाण्डौ-केरुङ सामान्य भएको छ ।

संघीयता जादूको छडी सावित भएको छ । सर्वाङ्गीण विकासका पाइला फिजिएका छन्‌ । देश स्विटजरल्यान्ड बनेको छ । कति छिटै तरक्की गरेको भन्दै विश्व चकित छ । विद्यार्थीले गृहकार्य गर्ने डरले कापीको पन्ना फाडेर कागजे हवाई जहाज उडाए जस्तरी खोला खोलामा पानी जहाज चलेका छन्‌ । गणतन्त्र भन्या गणतन्त्रै रहेछ । गणतन्त्रेको त्याग, तपस्या, बलिदान र जेलनेल सबथोक असुल भएको छ । नेताहरु धन्यवादका पात्र छन्‌ । नेताको सपनाले शाकार रुप लिएको छ । देशमा अमनचयन, शान्ति सुव्यवस्था, सुखी र समृद्धि फैलिएको छ । नेताको सपना जनताको घरदैलोमा जगजाहेर छ क्यारे ।

रेल सेवाले नेपालको असल छिमेकी चीन भएको छ । युगौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध रेलले झन नजिक बनाएको छ । दक्षिण र उत्तरका दुई ठूला अर्थतन्त्र भएका मुलुकमा हामी अब रेलवाला भएका छौ । चिनियाँ प्रविधि र अनुभव भित्रिएको छ । घरघरमा सस्तो मालसामानले रेल सेवा फलदायी भएको छ । हिजो भन्दा आजको अवस्था उल्टो भएको छ । दक्षिणको दादागिरी सखाप भएको छ । विश्व अर्थतन्त्रमा चिनियाँ प्रभावको बाछिटा हामी कहाँ पुगेको छ । चिनियाँ अनुभव र शिक्षाले भावी पुस्ता जानकार हुनेमा दुईमत छैन । कम्युनिष्टले भन्ने गरेको विस्तारवाद …………….।

नेपालमा दक्षिण र उत्तर भन्दै रमाउनेको गोत्र फरकफरक छ । वामेहरु उत्तर भन्ने बित्तिकै भुतुक्क हुन्छन्‌ । हुरुक्क हुन्छन्‌ । र्‍याला काढ्छन्‌ । आफ्नै गोतियार बन्धु मान्छन्‌ । आपद विपदमा दक्षिण चहार्ने बानी बिर्सन्छन्‌ । दक्षिणको सांस्कृतिक, राजनीतिक, आर्थिक आदिमा सहयोगमा हुर्की बढेका पनि उत्तर लाग्दा चित्त शान्ति पाउछन्‌ । नेपाली पानी र जवानी दक्षिणका खोलानालामा पोखिएको छ । हिजोदेखि आजसम्म नेपाली पसिना दक्षिणै बगेको छ । चेली बेटीको साइनो छ । रोटी भातको डकार छ । उत्तरी डाँडापाखाको चहल पहल भन्या त रेल सेवाले गर्दा हो । रेलका डिब्बा डिब्बामा “श्री पशुपति नाथको जलहरीले यहाँको यात्रा सफल पारुन्‌” लेखिएको छ । दक्षिणतिर चल्ने गोरुरेल भन्दा उत्तरेसाँडेरेल ए वान छ । काठमाण्डौबाट छुटेको रेल केरुङमा गएर रुक्छ । केरुङबाट छुटेको रेल कीर्तिपुर भाटभटेनी दरबारमा रोकिन्छ । भाटभटेनी दरबारका संचालक मीनबहादुर गुरुङको महान त्यागले रेल जक्सन निर्माण भएको हो क्या रे !

रेल स्टेशनमा श्रमिक, बदाम बेच्ने, किताब बेच्ने, होटल व्यवसायी, रिक्सा चालक, ट्याक्सी चालक, ल्यापटप समातेर कीर्तिपुरको डाँडोमा कमाउहरु आदि उत्तरे हावाका उपज हुन्‌ । गणतान्त्रिक रेल हाम्रो शान र मान बनेको छ । नेपालीको पहिचान थपिएको छ । रेल यात्रा आनन्ददायी छ । नाइट र डे बसले दिएका सारा कष्ट हरण भएका छन्‌ । धुलाम्य सडकको झन्झट हटेको छ । नेपाली उत्पादन उत्तरका शहर बजारमा बेचिन्छ । उत्तरको जायजेथा नेपाली बजारमा छ । आत्मनिर्भर भएका छौ । खुशी भित्रिएको छ । सस्तो किन्न पाइएको छ । हाम्रा पौरखमा खिया लागे के भो चिनियाँहरु घर घरमा उपलब्ध छन्‌ । दुःखम सुखम गरी अर्जेको रेमिट्यान्स जिन्दावाद छ । जे होस उखाने इतिहास स्वर्णाच्छरले लेखिने भएको छ । बेइजिङ दाइनो भएको छ ।

संघीयताले छोटो समयमा कायापलट गरेको छ । दूर्गम भनिने उत्तर दिशा अब आयन्दा दूर्गम रहेन । नेपाली भाग्य फेरिएको छ । रेलसँगै ऐश आराम र समृद्धि भित्रिएको छ । पूर्व राजा ज्ञानेन्द्र चित खाएर बसेका छन्‌ । नासो फर्काउलान भन्ने आश मारेका छन्‌ । मुक्तकण्ठले गणतन्त्रको प्रसंशा गर्दैछन्‌ । जनतालाई आरामको मन्जिल प्राप्त भएको छ । गन्तव्य छोट्टिएको छ । प्रत्येक नेपाली ससुरालीको झैँ खानलाउन पाइरहेका छन्‌ । कोही पलायन भएर कोही हरिलट्ठक भएर । जताततै ट्रेनको सिटीको आवाज सुनिन्छ । चराचुरुङ्गी र जङ्गली जनावर तर्सन थालेका छन्‌ । विद्युतीय इन्जन नेपाली माटोमा सिटीको चेतावनी दिदै काठमाण्डौ-केरुङ हुइकिएको छ । सिटी सुइय्य सेल्छ दगुर्छ । उत्तरी वनपाखामा कहीँ रेल, कहीँ पानी जहाजले गुन्जार भएका छन्‌ । रेल चढेपछि भिडभाड हुने, धक्कामुक्का लाग्ने, पान खाएर प्याच्च थुक्ने, गोजीसोजी सफाचट हुने, हिन्दी नबुझे पनि हा हा भन्नै पर्ने, कौनसा स्टेशन है भनेर सोध्ने झन्झट सफाचट भएको छ । बैलगाडा उखाने चिन्त़नले रेलको विकासमा महान फड्को मारेको छ । विश्व चकित छ । नेपाली बहादुर नै हुन्‌ भन्ने प्रमाणित भएको छ । आफ्नै बलबुताले द्वन्द्व समाधान गर्ने नेपाली । बैलगाडामा संघीयता लाद्ने नेपाली । खोलानालामा पानी जहाज चनलाउने नेपाली । जङ्गलीपथमा चल्ने नेपाली । सबै नागरिक समान बनाउछौ भन्ने खामपन्थी नेपाली ।

शीर्ष नेताको बुद्धि गजबको छ । कुरकुरे बैँसमा कम्युनिष्ट बनेकाहरु बुढा भएपछि खम्यनिष्ट बेनका छन्‌ । देश बनाउने सुत्र उत्पादन गरेका छन्‌ । दूधका साक्षी बिराला भएका छन्‌ । कुकार्यका डिलर भएका छन्‌ । कुर्सीका लागि सात जुनीसम्म अटुट गठबन्ध गर्न तयार छन्‌ । बिहानको गठजोर बेलुका फर्न सक्ने आँटिला बनेका छन्‌ । कति लचिला फसिला टाउकेहरु ! जोडजाड गर्दा स्वर्ग र नर्कसँगै जाने वादा गर्छन्‌ । कथंकदाचित छुट्टिनु परे बाबुबाजेको सराद गर्न अग्रसर हुन्छन्‌ । कुकार्यका कारण नर्कमा बस्नै पर्ने भयो भने पनि एकसाथ संघर्षको गाथा सहित रेलगाडीमा बाँसुरी बजाउन तयार छन्‌ ।

मुफ्तमा रेल चढ्न पाइने भएको छ । जनकपुर-जयनगर जस्तो लोकल ट्रेन भन्दा काठमाण्डौ-केरुङ रेलको यात्रा स्वर्ग गए जस्तो छ । सुपर ट्रेन भनेको सुपर नै हो । सुपर ट्रेनमा थकान छैन । आत्मा खुश हुन्छ । रमणीय यात्रा हुन्छ । मृत्युको परबाह हुँदैन । तमामखाले पहाडी दृश्यको दर्शन गर्न पाइन्छ । चिनियाँ रेल पटरीबाट उत्रला भन्ने चिन्ता हुँदैन । रेलमा नेपाली बुद्धि र चिनिया सुद्धिको समिश्रण छ । चिनियाँ अनुभव कुट कुट भरिएको छ । नेपाली बहादुरी छिलिएको छ । एकपटक काठमाण्डौ-केरुङ चढेपछि कोही उत्रन मान्दैनन्‌ । काम होस नहोस काठमाण्डौ-केरुङ र केरुङ-काठमाण्डौ उखान सार्थक भएको छ । गनगने गगनेको कीर्तपुरे डाँडामा ल्यापटप चलाएर बिआरआई तानाबाना बुनैझैँ काठमाण्डौ-बेजिङ पथ बलियो बनेको छ । करौडौं फालेर अरबौंको मुनाफे बकबास सुनिने भएको छ । अबको अर्जुनदृष्टि मिसन चौरासी हो ।

रेलमा सुतेर मजाले यात्रा गर्न सकिन्छ । नयाँ नेपालको नयाँ जीवन रेलसँग जोडिएको छ । हिन्दुस्तानी रेलजस्तो यात्रुले रात-भर जागा भएर हिँड्नु पर्दैन । यहाँको रेल यात्रा संयमी छ । नाइट बसजस्तो आधारातमा चालकले कमिसन खाएको भरमा एकान्त कुनामा बासितुसी भात खानु पर्दैन । यात्रुले छानेर रेलको मिन्युमा टिक लगाएकै भरमा खाना हातमा आइपुग्छ । रेल सेवा यात्रुको सुविधामा दत्तचित्त छ । श्रद्धा र भक्तिको सद्‌भावपूर्ण यात्रा अवश्य गरौं ।

आधा रातमा रेल रोकियो । बाहिर निस्पट्ट अँध्यारो छ । धमिलो आँखा खोलेँ, रसुवा भनेर लेख्या जस्तो देखेँ । “यह रेल केरुङ नही…..” भन्ने आवाज सुनेँ । केरुङ जक्सन जस्तोमा रातो झण्डा हल्लिएको जस्तो देखेँ । सबै उत्रिए, रेल खाली भयो । चीनमय रेल केरुङ नपुग्दै रोकिएको झोकमा “ए भैय्या क्या बात है ?” भनेको त पलङबाट खसे छु । झसङ्ग भएँ । निन्द्राबाट ब्युउझेँ । उफ कस्तो सपना !

यहीँ समयमा प्रधानमन्त्री चीन भ्रमणमा छन्‌ । कर्मकाण्डी भ्रमणले दुई देशबीच महत्त्वपूर्ण र ऐतिहासिक भ्रमण भयो भनेर विश्लेषणको खेती गर्ने होलान्‌ । आपसी विश्वासलाई सुदृढ पारिने छ भन्लान्‌ । सकरात्मक सन्देश दिने छ भनेर घाँटी फुलाउने छन्‌ । पञ्चशीलका सिद्धान्तअनुरूप शान्तिपूर्ण सहअस्तित्व तथा सद्भावपूर्ण छिमेकी सम्बन्ध हुनै पर्छ क्यारे ! नेपाली भिखारी भँड्खारो कहिले पुरिने होला भन्ने चिन्ताले सुतेँ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी