चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। शुक्रबारको पहिलो खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गर्दै एनपीएलमा पहिलो जित निकालेको हो।
एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डुसँग ३ विकेटले हारेको थियो। चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले १ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।
पहिलो विकेटका लागि ओपनर शिखर धवन र देव खनालले ९।५ ओभरमा ५३ रनको साझेदारी गरे। ३४ बलमा १ चौका र १ छक्का हानेका देव २५ रन बनाउँदा चितवनका कप्तान कुशल मल्लको बलमा एलबीडब्लु धरापमा परे।
दोस्रो विकेटका लागि धवन र चान्डविक वाल्टनले ५१ रनको साझेदारी गरे। ४१ बलमा ४ चौका र १ छक्का हानेका धवन ४५ रन बनाउँदा जान निकोल लफ्टी इटोनको बलमा कट एण्ड बोल्ड भए।
चान्डविक वाल्टन १९ बलमा ३ छक्कमा सहयोमा ३० रन बनाउँदा रवि बोपाराको बलमा एलबीडब्लु धरापमा परे।
अर्जुन घर्ती ११ रनमा रनआउट भए। जिसन मक्सुद १२ र गुल्सन झा शुन्य रनमा नटआउट रहे। चितवनका लागि कुशल मल्ल, लफ्टी इटोन र रवि बोपाराले समान एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रनको योगफल तयार पारेको थियो ।
रवि बोपारा ५९ र शरद भेषावकर ६ रनमा अविजित रहे। रविले ४० बलमा ७ चौका र १ छक्का प्रहार गरे।
चौथो विकेटका लागि रवि बोपारा र कप्तान कुशल मल्लले ६० रनको साझेदारी गर्दै चितवनको इनिङ्स उकासेका थिए। चितवन एक समय ५।१ ओभरमा ३–२२ को अवस्थामा थियो। २७ बलमा २ चौका र १ छक्का प्रहार गरेका कप्तान कुशल २३ रन बनाउँदा मक्सुदको बलमा गुल्सन झाको हातबाट क्याच आउट हुन पुगे ।
ओपनर लुक वेनेकेनस्टाइन शुन्य रनमा नै सोमपाल कामीको बलमा बोल्ड आउट भए। अर्का ओपनर दिपक बोहोरा ८ रन बनाउँदा नन्दन यादवको बलमा देव खनालको हातबाट क्याच आउट भए। विपिन रावल ११ रन बनाउँदा जिसन मक्सुदको बलमा बोल्ड आउट भए। अमर राउटेला विपिन कै बलमा बोल्डआउट भए ।
जान निकोल लफ्टी इटोन ९ रन बनाउँदा विपिन शर्माको बलमा एलबीडब्लु धरापमा परे। सोहेल तनविर शुन्य रनमा नै शर्माको बलमा बोल्ड आउट भए। कर्णालीका लागि विपिन शर्माले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा २१ रन खर्चे। जिसन मक्सुदले २ विकेट लिए। सोमपाल कामी, नन्दन यादवले समान एक विकेट आफ्नो नाममा गरे।