मंसीर १६ काठमाण्डौँ । यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेललमा नेपालले खराब ब्याटिङ गर्दा ४५.४ ओभरमा १४१ रनमा अलआउट हुन पुग्यो ।
बंगलादेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो।
नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए। उत्तम मगर र अभिषेक तिवारीले २९÷२९ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बंगलादेशका अल फहद, इक्बाल हुसैन इमोन, रिजान हुसैनले २–२ विकेट लिए।
अब केही बेरमा बंगलादेशले जवाफी व्याटिङ थाल्नेछ । सेमिफाईनल पुग्न आजको खेल जित्नै पर्ने दबाबका बीच नेपालले खराब प्रदर्शन गरेको हो । शुक्रबारदेखि सुरू भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।
नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ। कुल आठ टिम सम्मिलित प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान र श्रीलंका समूह बी मा छन्।
समूह ए मा युएई, जापान, भारत र पाकिस्तान छन्।