गाउँको कुनै सभा समारोहमा सहभागि हुनु भएको छ भने गाउँघरमा मान्छेको संख्या घट्दो छ भन्ने कथन गलत सावित हुन्छ । आसनग्रहण गराउदाँ गराउँदा आयोजकको वेहाल हुन्छ । मञ्चमा आसनग्रहण गर्नेको घुइचो देखिन्छ । कुर्सी थप्दा थप्दा कार्यक्रम सकिन्छ, तर अतिथि सकिदैनन् । पछिल्लो परिभाषा अनुसार आसनको अर्थ मञ्चमा नेतालाई बसाउनु हो । निम्ता दिएर आफ्नो पहुँना बनाउनु हो । “आ बैल मुझे मार” हो । मञ्चमा बस्ने जो सुकै पनि नेपाली काइदा लायक हुन्छन् । गण्यमान्य हुन्छन् । देशका धनधान्य हुन्छन् । यहाँ प्रश्न उठ्न सक्छ कि पैशा कसरी कमाएको हो ? आसन ग्रहण गराउँदा यस्तो काईदा कानून हेरिदैन । ऊ कुन पदमा बसेको छ हेरिन्छ र मञ्चासीन गराइन्छ । सभासमारोहमा सबैभन्दा ठूलो विशाल पदधारिलाई महत्वका साथ बसाइन्छ । ताली पिटाइन्छ । गुणगान गयाइन्छ । चारआनाको चरित्रधारिलाई एक मोहरको बनाइन्छ । मञ्चासीन हुनेलाई मजाले स्वागत गरिन्छ । फुलगुच्छा खादाले बेरिन्छ । नेताको असली रुपलाई ढाकछोप गरी नक्कली सजावटमा उतारिन्छ । उसै पनि नेता भनेका बहुरुपी हुन् । रुपै नभएका भन्दा हुन्छ । चरित्रखोर हुन् । चरित्र हराएका । माउसुली झैँ । माउसुली यर्थमा कि उ जहाँ बस्यो त्यसैको रङ्गमा रम्छ गम्छ । जहाँ जे भेट्यो टिपेर ज्युनारी गर्छ ।
नेता आउदा सलाम ठोक्छन् । घाटीमा माला झुण्याउछन् । आसन ग्रहण गराउछन् । ताली पिटाउछन् । ग्रहणको अर्थ लिनु हो । खगोल वा ज्योतिष शास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाउनुलाई ग्रहण भनिन्छ । नेताले पनि सभामा भएका अरुको मान सम्मानमा ग्रहण लगाउछ । अर्काको बोल्ने पालो मिच्छ । अर्काको भाग खोस्छ । अर्को कुर्सी हत्याउछ । प्रमुख अतिथि होस् वा विशिष्ट उसले अर्काको विशाल व्यक्तित्वलाई सानो बनाउछ । आफु ठूलो बनेर अरुलाई सानो बनाउछ । आफ्नै नामनामेसी कायम गर्छ । अर्काको चुरिफुरी घटाउछ । यसर्थमा पनि ऊ ग्रहण हो । प्रमुख अतिथि वा विशिष्टले सर्वसाधारणको व्यक्तित्व र कृतित्वमा ग्रहण लगाई दिन्छ ।
शासन भनेको हुकुमत हो । अर्कालाई अर्ति, फुर्ति र उपदेश फर्माउने कला हो । जनप्रतिनिधि भएपछि जनतालाई धुलो चटाउने सक्ने सामर्थ्यवान हो । राजतन्त्र, लोकतन्त्र, जनतन्त्र नाम जे सुकै होस् तन्त्र मन्त्रमा चल्छ । हुकुम फर्माउछ । शासन आशनमा टिक्छ । सिंहदरबारिया आशन । राजा, राणा र पञ्चले कुल्चेको आसन । कमानको फुस्कान । ऋषिमुनिको आसन शरीरलाई साधना गरी सुकाउने हो भने नेताको आसन बकबास गरी जीउलाई फुलाउने आसन हो । गाठ हसुर्ने आसन हो । नेता हठयोग र लिँडेढिपी आसन मन पराउछन् । प्रमुख अतिथिदेखि अन्य अतिथि आफ्नै होउन् भन्ने चाहन्छन् । हठयोगको सहाराले नेताले आफु र आफ्ना वरिपरि फोहर थुपार्छन् । फोहर माने कुम्ल्याउनु हो । आफु मरे……. भन्दै आसन निमिट्यान्न पार्छन् ।
आसनमा बसाउने आयोजक हुन्छन् । चाहे मतदाता हुन् चाहे मञ्चाधिकारी जो सदाबहार बाहिर हुन्छन् । अर्काको बक बकमा रमिते बन्छन् । मेरो भन्नु केही छैन जस्तै ! पछाडि खुसखुस गर्छन् । रिसको साधना गर्छन् । आकाङ्क्षा खड्याउछन् । सजिसजाउ मञ्चमा फुस्रिन्छन् । महङ्गा र चिटिक्क परेका सोफामा नेता चम्किन्छन् । धुलाम्य धुलोमा चाक टकटक्याउदै कार्यकर्ता ताली पिट्छन् । जति ताली उति ठूलो नेता । मञ्चासिन आसनेले मन नपराएकालाई अशान्त बनाउछ । स्वच्छ सफा कार्यक्रम अस्वच्छ, अशुद्ध र विवादित हुन्छ । कार्यक्रमको प्रकृति खलबलिन्छ ।
एकघण्टा चल्ने कार्यक्रममा आशन गराउदा दुईघण्टा सिद्धिन्छ । र, पनि नेताको आउने क्रम चलिरहन्छ । नेताको आसन सिद्धासन, पद्मासन, भद्रासन, मुक्तासन, वज्रासन, स्वस्तिकासन, सिंहासन, गोमुखासन, वीरासन, धनुरासन, मृतासन, गुप्तासन, मत्स्यासन, मत्स्येन्द्रासन, गोरक्षासन, पश्चिमोत्तानासन, उत्कटासन, संकटासन, मयुरासन, कुक्कुटासन, कुर्मासन, उत्तानकुर्मासन, उत्तानमण्डुकासन, वृक्षासन, मण्डुकासन, गरुडासन, वृषभासन, शलभासन, मकरासन, उष्ट्रासन, भुजङ्गासन आदि हुँदै होइन ।
नेतालाई कार्यक्रममा बोलाउनु सास्ति ब्यहोर्नु हो । उसका आसेपासे, भाइभतिजा, पिएसिए आदि पार्टीगत गुटे आसनले रङ्ग्याउनु हो । संविधानमा लेखिएका हक अधिकार आसनमा लागु हुन्छन् । आजभोलि बजारमा पूर्वहरुको खेतीपाती छ । पूर्व वडाध्यक्ष, पूर्व उपपालिकाध्यक्ष, पूर्व पालिकाध्यक्ष, प्रदेशका पूर्व मन्त्री, पूर्व राज्य मन्त्री, पूर्व सभामुख, पूर्व उपसभामुख, पूर्व मुख्यमन्त्री, पूर्व प्रदेश प्रमुख, पूर्व संघीय राज्य मन्त्री, पूर्व संघीय मन्त्री आदि ईत्यादि । भलै देशमा दुईचार थान प्रधानमन्त्री मात्र दोहर्याइ, तेहर्याइ आसने हुँदा शान्ति छ । महिना पिच्छे मन्त्रीको अदत फेरिएझैँ प्रधानमन्त्री फेरिदा हुन त अरुले प्रमुख अतिथि पाउने कुरै थिएन । उसो त गाउँठाउँमा विश्व विद्यालय छन् । तिनका मौजुदा र पूर्वको पनि ठूलै लाइन छ । पार्टीका झोले भए पनि आशन छुटाउन मिल्दैन । यो व्यवस्था नै उनीहरुको पैतृक हो । पैतृक नहुनेले दाइजोमा पाएका हुन् । कहिलेकाहीँ आमन्त्रण नगरिएका पनि सेवाका खाँतिर टप्किन्छन् । आयोजकलाई कसो गरी मिलाउने हुन्छ । कसैले त जेठोपाठो मै हुँ भन्दै लेफ्ट राइट गर्छन् । हुँदाहुँदा पेशागत, जनवर्गीय संगठन, बुद्धिजीवी आदि ईत्यादि निम्तारु हेर्या हेरै हुन्छन् । उपभोक्तादेखि पिठ्युँभोक्ताको लाइन गनेर साध्य छैन । संविधानमा अक्षर नथप्ने संविधान सभाका सदस्य अझै जीउदै छन् । वास्तवमा नेता ग्रहणै हुन् । नेता घृणा, बेइज्जति, लुटेरा, भ्रष्ट, ठग, बेइमान आदि जे सुकै होउन् पूजनीय ढोकनीय हुन् । प्रमुख अतिथि योग्य हुन् । बिर्तालाई कसैले फिर्ता लिन सक्दैन ।
\
आसनग्रहण कार्यक्रमको गहना मानिन्छ । जस्तोसुकै गैगुज्रेको पनि आसन ग्रहण गर्दा हिरा, मोती र सुन जस्तै पवित्र हुन्छ । मञ्चमा बस्ने मानिस चानचुने हुँदैनन् । संघीयताले असल र राम्रो मान्छेको परिभाषा गरेकै छैन । कसैका बिरुद्ध तानाबाना नबुन्नु पनि समानता हो । आजभोलि अतितुच्छत्तम र भ्रष्टत्तम व्यक्ति मञ्चका अधिकारी हुन्छन् । कार्यक्रममा सर्वोपरी ठहरिन्छन् । नेताका पिछलग्गु, चम्चे, दलाल, चाटुकार, चुसाहा, चोर, फटाहा, ठग, भ्रष्ट आदि पालैपालो आसनाधीश हुन्छन् ।
आयोजक पनि कम्तिका छैनन् । प्रमुख अतिथि योग्य राजकीय पद हेरी धूप-दीप-सुगन्ध-फूल-नैवेद्य आदि अर्पण गरी हाल्छन् । आफ्नो हात जगन्नाथ भन्या जस्तै पहुँच भएसम्म यामानको माछा हात पार्ने दाउ कस्छन् । हातमा नअट्ने फूलमाधा तौलेर घाँटीमा गधाकोझैँ प्रमुख अतिथिलाई भारी बोकाउछन् । प्रमुख अतिथि योद्धा हुन कि भरिया छुट्याउनै गाह्रो पर्छ । उद्घोषकले मान सम्मानमा धनुर वाण बर्साउछन् । आयोजक पनि चतुरे हुन्छन् । प्रमुख अतिथिको अनुयायी झैँ फलाक्छन् । छप्पर फाडेर देला झैँ गरी प्रमुख अतिथिको आरती गाउछन् । प्रमुख अतिथिलाई भगवान बनाउछन् । भीमकाय वर्णन गर्छन् । अनि सुखीराम गद्गद् भै वरदान दिन्छन् ।
आयोजकले गच्छेअनुसार पूजा गर्छन् । नैवेद्य चढाउछन् । बाँकी भक्तहरु भक्तिभावपूर्वक आसनमा बसेर मौकाको फाइदा कुर्दै बस्छन् । प्रसन्न अनुहारले नेताजीको भावभङ्गी रुपमा रम्छन् । कसैले भगवानरुपी प्रमुख अतिथिलाई देशद्रोही, राष्ट्रघाती, ज्यानमारा, हत्यारा, भ्रष्टाचारी, सहकारी ठग आदिको स्वरुपमा बिराजमान भएको ठान्छन् । समयक्रमसँगै प्रमख अतिथिको आगमनको कथा व्यथा सुखद र दु:खदमा वर्णित हुँदैछ । सर्वशक्तिमान प्रमुख अतिथिले बिरोधिलाई क्रोधवाण हान्छ । आफ्नो नीति सिकाउछ । शक्तिले मात्तिदै सन्त जस्तै जे पायो तेइ फलाक्छ । ढुङ्गा, मुढा, जुता, चप्पलको उपहारले झस्किन्छ । कोही सदाबहार प्रमुख अतिथिका हकदार हुन्छन् । कार्यक्रम हुँदै छ भन्ने जानकारी पाउने बित्तिकै बिना निमन्त्रणा मञ्चमा टुप्लुक्क आइबस्छन् । निवृत्त जस्तो व्यवहार ठान्यो कि पागल कुकुरझैँ भौँतारिन्छन् । कार्यक्रम असफल हुने घोषणा गर्छन् ।
आफ्नै गाउँठाउँमा प्रमुख अतिथि भएर आउनु सामान्य कुरा होइन । प्रमुख अतिथि को ? बनाउने भन्ने बारेमा नियमित बोलपत्र जस्तै आव्हान गरिन्छ । लेखाजोखा गरी आशलाग्दोलाई बनाइन्छ । प्रमुख अतिथिले पदको होस हवास हराएर जे बोले पनि हुन्छ । स्वर्णिम सपना देखाउदै उखान टुक्कादेखि जेलनेलको उवाच गर्दा फरक पर्दैन । आयोजकले खुशी हुनै पर्छ । नेता माने बोली बिकाउ पनि हो । उसले दिनमा सत्रवटा कार्यक्रममा प्रमुख अतिथि हुनु पर्छ । कहाँ के बोल्ने के नबोल्ने ! ठूलो स्वरमा चिच्याउनु भाषण हो, जे ठान्या त्यहीँ बोल्नु महानता हो । नेताले देश सेवा र विकास गरेकै बुझ्नु पर्छ । उसले कसैप्रति अन्याय गर्दै गर्दैन भनेर ज्ञान लिनु पर्छ । दुई टकाको नेता डलरको हो भनेर मूल्याङ्कन गर्नै पर्छ । कहिलेकाहीँ नेता नेता डलर, भारु आदिमा बिक्छ । भाषण भनेको वक्तित्व प्रतियोगिता पनि होइन । पुरस्कार बाँड्ने पद हो । नेता चोर, भ्रष्ट जे सुकै होउन, सन्त हुन् । त्यागी हुन् । तपस्वी हुन् । अर्तिदाता हुन् । खल्ती भर्ता हुन् । चोखा प्राणी हुन् । कहिल्यै गल्ति गर्दैनन् ।
पहिलो पटक पद पाउने बित्तिकै प्रमुख अतिथि पाउनु भाग्यको खेला हो । विपक्षीको नीद हराम गराउनु हो । प्रमुख अतिथिको पद हस्तान्तरण गर्न सकिदैन । प्रमुख अतिथिको पद मन्त्रीको हाराहारी हुन्छ । मन्त्री भन्या प्रदेशका होइनन् नि ! आसनको चिन्ता कस्लाई छैन ? प्रमुख अतिथि बन्न नपाकोमा पूर्व राजामा कतिको छटपटी छ । बिचरा अविश्वासले फालिएका पूर्व जो सुकै भए पनि चिन्ताग्रस्त हुन्छन् । सुकुम्बासी झैँ हुकुमको अपेक्षमा दिन गन्दै बस्छन् । प्रमुख अतिथिमा मान सम्मान छ । सेवा सत्कार छ । ढोका भेट छ । दै-दस्तुर छ । ठेका पट्टा छ । के छैन, सबथोक छ । गणतन्त्र नेपालमा प्रमुख अतिथि फालाफाल छन् । गल्ली गल्लीमा पाइन्छन् । वडादेखि संघीयसम्म “बाह्र मौउ तेह्र कुकुर” जस्तै छन् । दिनमा कार्यक्रम नभएका र प्रमुख अतिथि नबनेको दिनै हुँदैन । पत्रपत्रिकादेखि इलेक्ट्रिनिक मिडियामा छाउछन् । एक दर्जन दर्शक भएको सभामा दुई दर्जन पुरस्कार बाँड्छन् ।
प्रमुख अतिथिको आवश्यकता बढ्दै गएको छ । समयले मागे अनुसार अब प्रमुख अतिथिको मन्त्रालय छुट्याउनु पर्छ । चाडपर्वमा प्रमुख अतिथि चाहिन्छ । देशमा ७५१ स्थानीय पालिका छन् । सातवटा प्रदेश छन् । एउटा संघीय सरकार छ । तर पनि प्रमुख अतिथि माग बढ्दो छ । कहिलेकाहीँ आयात गर्नु पर्ने अवस्था छ । अभावै अभावमा दिनमा दर्जनौं कार्यक्रम सम्पन्न भैरहेका छन् । दुःखजिलो गरी आयोजकले जसोतसो विधि पुर्याएका छन् । प्रमुख अतिथिको भ्याइ नभ्याइ छ । प्रमुख अतिथिको पिरमार्का बुझ्ने कोही छैनन् । तमाम कार्यकालमा एउटा मान्छे कति पटक प्रमुख अतिथि बन्यो भनेर कसले मूल्याङ्कन गर्ने ।