एसिसी यू–१९ एसिया कपअन्तर्गत नेपालले शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल युएईको शारजाहमा पौने ११ बजे सुरू हुनेछ।
पछिल्लो पटक सन् २०२१ को डिसेम्बरमा नेपाल र श्रीलंकाको युवा टोलीबीच शारजाहमै एसिया कपको खेलमा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाल ६० रनले पराजित भएको थियो।
अहिलेको नेपाली टोलीलाई पनि नेपाली क्रिकेटको भविष्यको रुपमा हेरिएको छ। अझ नेपाली युवा टोलीका कप्तान हेमन्त धामीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।
युवा टोलीको प्रशिक्षक शक्ति गौचनले युएई जानुअघि उत्कृष्ट नतिजा ल्याउने बताएका थिए।
नेपाली टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार छन्।
एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्।
एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।