मंसीर ३ काठमाण्डौँ । यस अघि चुनावमा गठबन्धन नगर्ने एक्ला एक्लै चुनाव लड्ने भनेका ठूला दुई दल काँग्रेस र एमालेले स्थानीय तहको उपनिर्वाचनमा केही स्थानमा तालमेल गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा तालमेल गरेका छन्।
गाउँपालिका उपाध्यक्षका लागि उनीहरू माओवादीविरुद्ध साझा उम्मेदवार उठाएका हुन्। उम्मेदवारी दर्ताअघि दुई दलले लिखित सहमति गरेका थिए, जसमा उपाध्यक्ष कांग्रेसको चुनाव चिह्नमा एमाले उम्मेदवार उठाउने उल्लेख छ।
उक्त सहमति अनुसार एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले उम्मेदवारी दर्ता गराएकी छिन्।
पुथाउत्तरगंगा माओवादी बलियो स्थितिमा छ। त्यहाँ माओवादीले ज्ञानीदेवी पुनलाई उम्मेदवार बनाएको छ।
२०७९ को चुनावमा माओवादी केन्द्रकी भूपेन्द्र बुढाले दुवै दलका उम्मेदवार भन्दा बढी मत ल्याएर बिजयी भएकी थिइन्। उनले ४ हजार ५९ मत ल्याउँदा कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए।
माओवादीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बुढाको गत असोजमा बागलुङमा भएको सवारी दुर्घटनामापरी मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुदैछ ।