१ मंसिर, काठमाडौं । नेपाली फुटबल क्षेत्रमा लामो समयदेखि खड्किएको जीतको खडेरी तोडिएको छ ।
मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले हराएको हो । ताजिकिस्तानमा भएको खेलमा नेपालले जीत हात पार्न सफल भएको हो । नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो । पछिल्लो पटक सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १–० ले हराएको थियो ।
डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक–एक गोल गरे ।
जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । रोहितले ७८औं मिनेटमा गोल थपे ।
रोहितले नेपालका लागि करियरकै पहिलो गोल गरेका हुन् ।
नेपालले पुरुष फुटबलमा एक वर्षपछि पहिलो जित हा तपारेको हो । फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोट अन्तर्गत २०२३ अक्टोबरमा प्रारम्भिक चरणमा लाओस विरुद्ध अवे खेलमा जित हात पारे यता यो नेपालको पहिलो जित हो । लाओसलाई हराएपछि नेपाल ७ खेलमा जितविहिन थियो । विश्वकप छनोटको दोस्रो चरणमा ६ मध्ये ५ खेलमा पराजित नेपालले एक खेल बराबरी गरेको थियो ।
यसअघि नेपाल पहिलो मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो ।