के तपाईले बुटवल– नारायणघाट सडक खण्डमा यात्रा गर्नुभएको छ ? यदि गर्नुभएको छ भने अवश्य पनि तपाईलाई त्यो सडक खण्डमा खेपेको सास्तीले सम्बन्धित ठेकेदार र सरकारलाई मनमनै गाली गर्नुभयो होला । ४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडक अहिले सम्म निर्माणाधिन अवश्थामै रहेको छ ।
बुटवल–नारायणघाट सडक खण्डले यात्रुलाई मात्र सास्ती दिएको छैन । दाउन्ने पूर्वको पर्यटन र व्यसायमा पनि उस्तै असर पारेको छ । खराब बाटोको कारण दाउन्ने पश्चिमका अधिकांश पर्यटक यता आउन खोज्दैनन् भने उता जाने पर्यटक पनि अहिले भैरहवा नाकाको तुलनामा बिरगञ्ज, जनकपूर लगायतको सीमा प्रयोग गर्ने गरेको छन् ।
लुम्बिनी बिकास कोषको सूचना अधिकृत डा. हरिध्वज राईको अनुसार बाटोकै कारण गत वर्षको तुलनामा लुम्बिनी आउने आन्तरिक पर्यटकको संख्यामा ४ प्रतिशतले कमि आएको छ ।
राईका अनुसार २०२३ को सेप्टेम्बर सम्म लुम्बिनी भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या ४ लाख २० हजार ४ सय ५३ जना रहेको यस वर्षको सोही महिना सम्ममा ३ लाख ९५ हजार ७ सय ९१ जना रहेको छ । समग्रमा लुम्बिनीमा वर्षेनी आन्तरिक पर्यटकको संख्या बढदै गएको भए पनि यस पटक पर्यटकको संख्यामा कमि आएको हो ।
बाटो खराब रहेको कारण नयाँ वर्ष, दशैं लगायतका विदाहरुमा दाउन्ने पूर्वका पर्यटकहरुले लुम्बिनीको तुलनामा उतैको पर्यटकिय गन्तब्यहरुलाई प्राथकिता दिने गरेका छन् ।
बाटोको कारण पर्यटकको साथै यस क्षेत्रको व्यसाय पनि खस्किदै गएको व्यवसायीहरुको चिन्ता रहेको छ । बाटोकै कारण भैरहवा भन्सार हुदै आउने भारतीय समान पनि कम भएको छ । एक पटक काठमाण्डौं लगायत अन्त स्थान मात्र जादा ट्रक लगायतमा मरम्मत खर्च बढेकै कारण चालकहरु बैकल्पिक नाकाको रुपमा बिरगञ्ज र जनकपूर नाका प्रयोग गरिरहेका सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको भनाई छ ।
भैरहवा नाका हुदै नेपाल छिरेका भारतीय नम्बर प्लेटका गाडीहरुले ७२ घण्टे सुविधा पाएका हुन्छन् । अर्थात नेपाल छिरेको ७२ घण्टा भित्र उनिहरु भारत फर्किनु पर्छ । तर बुटवल–नारायणघाट सडक खण्ड प्रयोग गर्ने अधिकांश मालवाहक गाडीहरुको पट्टा भाचिने गरेको समस्या आउने गरेको छ । यसले उनिहरु निर्धारित समयमा भारत फिर्ता हुन कठिनाई हुने गरेको छ । समय पनि लाग्ने र जरिवाना तिर्नुपर्ने तथा गाडी मरम्मतमा पनि धेरै खर्च लाग्ने गरेको हुदा भारतीय चालकहरु यो बाटो प्रयोग गर्न खोज्दैनन् ।
यसले भैरहवा भन्सार कार्यालयको राजस्वमा पनि आसर पारेको कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीको भनाई छ ।
गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहेको छ ।