भदौ ३ काठमाण्डौँ । नेपालले भारतमा बिजुली निर्यात गर्न थालेको तीन वर्ष नपुग्दै यस बर्ष हजार मेगावाट नाघ्न सक्ने अनुमान गरिएको छ ।
भारतले हालै नेपालका १२ वटा जलविद्युत् परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत् खरिदका लागि स्वीकृत गरेको छ। अब नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको छ।
नेपालबाट हालसम्म जम्मा ६९० मेगावाट (१६ वटा परियोजनाबाट) निर्यात हुँदै आएकोमा अब ९४१ मेगावाट २८ वटा परियोजनाबाट बिजुली निर्यात हुनेछ।
भारतले थप २५१ मेगावाट लैजाने निर्णय स्वीकृत हुनुअगावै गत आर्थिक वर्षमा नेपालले भारतमा १६ अर्ब ९३ करोड रुपैयाँबराबरको विद्युत् बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ। यो बर्ष गत बर्षको तुलनामा अझै बढी आमदानी गर्न सक्ने प्राधिकरणका अधिकारीहरु बताउछन् ।
अघिल्लो प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालबाट भारतले १० बर्ष भित्र १० हजार मेगावाट बिजुली खरीद गर्ने सम्झौता गरेको थियो ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलोपटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएको थियो। तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरैले बढेको छ।
भारतीय राजदूतावासका अनुसार इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलोपटक ऊर्जा निर्यात सुरु गरेयता भारतले नेपालमा उत्पादित विद्युतलाई रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ। नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ।
भारतले आफ्नो देशका खरिदकर्ताहरूका लागि जलविद्युत् खरिद दायित्व ९एचपिओ०को एक हिस्साको रूपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ। जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत् खरिद गर्न प्रोत्साहित गर्दछ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ। यो सम्झौताको पहिलो वर्ष नै झन्डै एक हजार मेगावाट निर्यात भइसकेको छ।
यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा छ। बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता टुंगो लागी २०८१ साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो। तथापि, बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भएको छ।