साउन २४ काठमाण्डौँ । नेपालमा निरन्तर हवाई दुर्घटना बढेपछि नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन सरकारले तयारी गरेको छ । यसका लागि कानुनी परामर्श भईरहेको संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
यस अघि पूर्व मन्त्री सुदन किराँतीले पनि उनलाई हटाउने तयारी स्वरुप स्पष्टीकरण सोधेका थिए । तर उनले मन्त्रीसँग बोलचालै बन्द गरेर उच्च स्तरीय नेताहरुसँग भेटघाट गरी आफूलाई जोगाउन सफल भएको स्रोतको दाबी छ ।
एयर डाईनेष्टीको हवाई जहाज दुर्घटनामा विषयमा बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।
उनले आफूले गरेको निर्णय फेरि अदालतबाट बदर नहोस् भन्नका लागि सो निर्णय लिनुअघि आफूले कानुनी परामर्श अघि बढाएको पनि समितिमा स्पष्टिकरण दिए ।
उनले भने, ‘म के चाहन्न भने मन्त्रीको पहलकदमीमा एउटा निर्णय होस्, कुनैपनि निर्णय फेरि अर्को बाटोबाट पुनर्स्थापित होस्। अनि मन्त्री चाहिँ त्यहीँ बसिरहोस्। मेरो निर्णयमाथि जुनसुकै निकायबाट चुनौति आओस्। त्यो निकायबाट चुनौति आइसकेपछि अथवा बदर भएपछि त्यो मन्त्रीले नैतिकताको आधार त्यहाँ बस्न म के कुरामा स्पष्ट छु भने मन्त्रीले गरेको निर्णय त्यो संवैधानिक हिसावले, कानूनी हिसावले सर्वस्वीकृति भएको हुनुपर्छ।’
मन्त्री पाण्डेले नैतिकता लाद्ने विषय नभएको हुनाले त्यसमा जिम्मेवार व्यक्ति आफैँ सचेत हुनुपर्ने बताए। समितिको बैठकमा सांसदहरूले महानिर्देशक अधिकारलाई पदमुक्त गरेर मात्रै छानबिन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका थिए। मन्त्री पाण्डेले संसद र संसदीय समितिले दिएको निर्देशन अनुसार सरकार चल्नुपर्ने भएकाले पनि समितिको निर्देशन आफूहरूले पालना गरेर अघि बढ्ने बताए।
बैठकमा सत्तारुढ दलका सांसदहरुले नै प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले महानिर्देशक अधिकारीलाई बहाल राखेर हुने कुनैपनि छानबिन निष्पक्ष हुनै नसक्ने भएकाले पनि उनलाई पदमुक्त गर्न आवश्यक रहेको तर्क गरे। उनले यसमा ठोस निर्णय गरेर अघि बढ्न पनि मन्त्री पाण्डेको ध्यानाकर्षण गराए।
एमालेकी सचेतक सुनिता बरालले पटक पटक हुने हवाई दुर्घटनाको जिम्मेवारी सरकार आफैंले लिनुपर्ने बताइन्। उनले नियामक निकायको कामलाई प्रभावकारी बनाउने, दोषीमाथि कारबाही गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा पनि राखिन्।
यता, प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले हवाई दुर्घटनामा गल्ती गर्नेहरूलाई सरकारले कानूनी दायरामा ल्याउने कुरामा ढिलाई गर्न नहुने बताए। उनले सो सम्बन्धमा नीतिगत सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए।
सांसद तामाङले राजनीतिक नेतृत्वको दोष दिएर हवाई दुर्घटनामा गम्भिर गल्ती गरेकाहरुलाई उन्मुक्ति दिने भुल कसैले पनि गर्न नहुने बताए।