साउन २२ काठमाण्डौँ । घरेलु टोली नेपालले काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज इरानसँग भिड्दैछ।
नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ।
इरानसँगको भेट नेपाली टोलीका लागि लिग चरणमा भोगेको हारको बदला लिने अवसर छ । तर नेपालले ईरान बिरुद्ध समुह चरणमा देखिएका गल्तीहरु सच्याउदै डिफेन्स बलियो बनाउनु पर्ने छ । बढी उचाई भएका ईरानी खेलाडीलाई , सर्भिस, ब्लक र रिसिभमा ध्यान दिन सके नेपालले पाखा लगाउन सक्छ ।
आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो। उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमा हुनेछ।
आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्दैछन्। सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।
तेस्रो जितसँगै भारत १० अंक सहित शीर्षस्थानमा छ। ९ अंक सहित नेपाल दोस्रो र ७ अंक भएको इरान तेस्रो स्थानमा छ। ४ अंक भएको श्रीलंका चौथो स्थानमा छ। माल्दिभ्स पाँचौ स्थानमा छ ।