साउन २० काठमाण्डौँ । काभा महिला भलिबल नेसन्स लिगमा आज ९आइतबार० नेपाल र इरान भिड्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ।
लिगमा नेपाल अपराजित रहेको छ । नेपालले पहिलो पटक भारत बिरुद्ध समेत जित निकालेको छ । पहिलो खेलमा पनि नेपालले श्रीलकालाई पराजित गरेको थियो ।
लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ। समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
२ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहिन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ।
नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो। दोस्रो खेलमा भने शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो।
इरानले शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो।