साउन १४ काठमाण्डौँ । निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने भएपछि उनले नाम फिर्ता लिएका हुन् । संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो।
उजुरीकर्ताले समितिमा आएर प्रधानले आइएनजिओमा जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक(पटक शारीरिक सम्बन्ध राखेको र आफूले दिएको जाहेरी प्रहरीले नलिएको बताएकी थिइन्।
ती उजुरीकर्ताले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि एक करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन्।
यौन दुर्व्यवहारको मुद्दामा मिलापत्र गरेका प्रधानलाई उच्च नैतिक चरित्र आवश्यक हुने निर्वाचन आयोगमा नियुक्ति गर्न संसदीय सुनुवाइ समितिका सांसदहरू हच्किएका थिए।
सुनुवाइ समितिले प्रधानको उच्च नैतिक चरित्र नदेखिएको भन्दै उनलाई अनुमोदन नगर्ने अवस्था देखा परेपछि प्रधानले नाम फिर्ता लिएका हुन्। प्रधानले नाम फिर्ता लिने बताएपछि उनको विषयमा निर्णय गर्न बिहान साढे ११ बजेका लागि डाकिएको बैठक अपराह्न ५ बजेका लागि सारिएको छ।