काठमाडौं असार २१ । तराईरमधेश द्रुतमार्गअन्तर्गत लेनडाँडामा निर्माणाधीन दायाँपट्टिको सुरुङमार्ग पनि छिचोलिएको छ । मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने १६ सय १२ मिटर लामो सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।
लेनडाँडामा आउने र जाने छुट्टाछुट्टै अर्थात् जोडी सुरुङ निर्माण भइरहेका छन् । त्यसमा बिहीबार निजगढबाट काठमाडौंतर्फ आउने (दायाँ) तर्फको सुरुङमार्ग छिचोलिएको हो । काठमाडौंबाट निजगढतर्फ जाने १६ सय ३३ मिटर लामो सुरुङमार्ग गत ४ जेठमा नै छिचोलिएको थियो । योसँगै लेनडाँडाको दायाँ–बायाँकै सुरुङमार्ग छिचोलिएको छ ।
बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गर्दै उनले तोकिएको समयमा सुरुङमार्ग छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गरे ।
आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मिहिनेतका कारण सफलता मिलेको बताउँदै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न पनि उनले निर्देशन दिए ।
द्रुतमार्गमा बन्ने कुल ६ वटा सुरुङ आयोजनामध्ये अहिले लेनडाँडासहित धेद्रे र महादेवटार गरेर तीन सुरुङमार्ग परियोजना निर्माणाधीन छन् । ०७८ जेठयता उक्त तीन सुरुङमार्ग खन्न सुरु भएको थियो । त्यसमा धेद्रे सुरुङमार्गअन्तर्गतको १६ सय ५३ मिटर लामो निजगढबाट काठमाडौंतर्फ आउने (दायाँ) टनेल गत ११ जेठमा छिचोलिसकिएको छ ।
अब धेद्रेमा काठमाडौंबाट निजगढतर्फ जाने (बायाँ) सुरुङ र महादेवटारको दुवैपट्टिको सुरुङ छिचोल्न बाँकी छ । त्यसमा धेद्रेको बायाँ सुरुङ साउन तेस्रो सातासम्म छिचोलिने नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले जानकारी दिए । कुल १७ सय २८ मिटर लामो हुने उक्त सुरुङको १५ सय ६४ मिटर खण्ड सम्पन्न भइसकेको छ । उक्त सुरुङमार्गको अब एक सय ६४ मिटर खण्ड मात्रै खन्न बाँकी छ, साउन तेस्रो सातासम्म छिचोलिने उनको भनाइ छ । महादेवटारको सुरुङ छिचोल्न भने अझै तीन–चार महिना लाग्न सक्ने उनले बताए । महादेवटारमा बन्ने सुरुङमार्ग द्रुतमार्गमा बन्ने अन्य सुरुङभन्दा लामा छन् । त्यसमा निजगढबाट काठमाडौंतर्फ आउने ९दायाँ० सुरुङ ३३ सय २२ मिटर लामो हुनेछ, त्यसमा हालसम्म दुई हजार २९ मिटर खण्ड सकेको छ । अब महादेवटारको दायाँ सुरुङमार्गमा १२ सय ९३ मिटर खण्ड खन्न बाँकी छ ।
यसैगरी, काठमाडौंबाट निजगढ जाने (बायाँ) सुरुङमार्ग भने ३३ सय ८६ मिटर लामो हुनेछ, त्यसमा हालसम्म २२ सय ८८ मिटर खण्ड खनिसकिएको नेपाली सेनाले जनाएको छ । त्यो अनुसार बायाँ सुरुङमा अब एक हजार ९८ मिटर खण्ड खन्न बाँकी छ, उक्त खण्ड खन्न अझै तीन–चार महिना समय लाग्ने सूचना अधिकारी केसीले बताए ।
सेनाले ड्रिल–विस्फोट मोडेलमा यी सुरुङहरू खन्दै आएको छ । पहिला ड्रिल गरेर निश्चित ठाउँमा विस्फोटक पदार्थ राखिन्छ । त्यसपछि त्यसलाई विस्फोट गरेर सुरुङ खनिन्छ ।
यो बाहेक द्रुतमार्गमा थप तीनवटा सुरुमार्ग निर्माण गर्ने योजना छ । त्यसमा एक हजार मिटरको देवीचौर सुरुङमार्ग र तीन सय ९० मिटरको सिसौटा सुरुङमार्गको डिजाइनको काम भइरहेको छ । यसैगरी, २२ सय ५० मिटरको चन्द्राम भिर सुरुङमार्गको डिजाइन अन्तिम चरणमा पुगेको छ भने प्रवेशदार निर्माणको तयारीको काम पनि सुरु गरिएको छ । यी तीनै ठाउँ आउने–जाने छुट्टाछुट्टै अर्थात् दोहोरो टनेल नै निर्माण हुनेछ ।