‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी

‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी

  • सोमवार, असार १८, २०८१
  • अर्चना झा

  • 6.4K
    SHARES

गोदावारी (ललितपुर), १७ असार : हिमाली क्षेत्र तथा उच्च हिमालीमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको छ । यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिवद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने बताइन्छ ।

यार्सागुम्बाको माग विश्वका अधिकांश देशबाट हुने गरे पनि मुख्य बजार भने चीन हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा एक केजी यार्सागुम्बा लाखौँ मूल्यमा बिक्री हुने गर्दछ । अधिक मागका कारण केही वर्षयता यसको सङ्कलन एवं बिक्री वितरण कार्यमा उच्च पहाडी तथा हिमाली भेगका बासिन्दा निकै आकर्षित भएका छन् ।

नेपाल राष्ट्रिय बैङ्क अनुसन्धान विभागका सहसूचना अधिकारी डा भागवत आचार्यका अनुसार नेपालमा वार्षिक न्यूनतम् तीन हजार केजी यार्सागुम्बा सङ्कलन हुने गर्दछन् । विश्व बजारमा वार्षिक ८३ देखि एक सय ८३ मेट्रिक टन यार्सागुम्बा आपूर्ति हुने गरेकामा चीनबाट मात्र करिब ९५ प्रतिशतभन्दा बढी आपूर्ति हुने गर्दछ ।

ठूलो कारोबारको क्षेत्र बन्दै

नेपालमा २५ जिल्लामा यार्सा सङ्कलन भए पनि यसको व्यावसायिक सङ्कलन बढी डोल्पा, दार्चुला, अछाम, मनाङ, रुकुम, बझाङ, हुम्लालगायत १२ जिल्लाबाट हुने गरेको पाइन्छ । विश्वमा यार्सागुम्बाको प्रजाति पाँच सयभन्दा बढी छन्भने हालसम्म यार्सागुम्बाको ११ प्रजातिका पहिचान गरिएको आचार्यको भनाइ छ । नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७०÷७१ का प्रतिवेदनअनुसार नेपालमा करिब रु चार अर्ब ९२ करोडको यार्सागुम्बा सङ्कलन गरिएको थियो ।

यर्सागुम्बाको खुल्ला बजारमा न्यूनतम एक केजीको मूल्य ३० लाखदेखि अधिकतम रु ८० लाखसम्म पर्छभने प्रतिगोटा दुई हजारदेखि पाँच हजारसम्ममा बिक्री वितरण गरिएको पाइएको छ । नेपालबाट वार्षिक पाँच हजार केजी यार्सागुम्बा निकासी हुने अनुमान गरिएको आचार्यले जानकारी दिनुभयो ।

खासगरी यार्सागुम्बा सङ्कलन गर्नका लागि संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज, वन कार्यालयबाट अनुमति लिनुपर्छ । दार्चुलाको अपिनम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख (वार्डेन) विनयकुमार झाले स्वीकृत व्यवस्थापन कार्ययोजनामा उल्लेख भएबमोजिम प्रत्येक आर्थिक वर्षमा जम्मा आठ सय ५० केजीको राजस्व लिई जिल्लाबाहिर निकासा दिने छोडपुर्जी कार्यालयले दिने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार, “यार्सागुम्बा प्रतिकेजी ३१ हजार राजस्व दाखिला गरी जिल्लाबाहिर यार्सागुम्बा निकासी हुने गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ देखि हालसम्म जम्मा राजस्व सङ्कलन रकम रु एक करोड ८० लाख ८६ हजार आठ सय पाँच भएको छभने गत वर्ष आवमा राजस्व रकम रु एक करोड ५२ लाख एक हजार ६ सय २५ सङ्कलन भएको थियो । गत वर्षभन्दा यस वर्ष आम्दानी बढेको झाले बताउनुभयो ।

चालु आवको जेठसम्म संरक्षण क्षेत्रभित्रका यार्सा सङ्कलन गर्न जाने सात सय पाँच रहेका छन् । संरक्षण क्षेत्रभित्रका लागि कार्ड लिएबापत रु पाँच सय शुल्क तिर्नुपर्ने, जिल्लाभित्रका लागि दुई हजार र जिल्ला बाहिरका लागि रु तीन हजार शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

वन निर्देशनालय सुदूरपश्चिमका निर्देशक हेमराज बिष्टले दार्चुला जिल्लाको तीन देशीय नाका क्षेत्रमा यार्सागुम्बा सङ्कलनका समयमा अन्तर्राष्ट्रिय देशबाट हजारौँको सङ्ख्यामा व्यापारी तथा यार्सा सङ्कलनकर्ताहरू आउने गरेका छन् । “यार्सागुम्बा टिप्न जानुभन्दा पहिला सबैले कुलदेवता तथा प्राकृतिकलाई पूजा गरेर मात्र जानुपर्ने चलन छ । यस क्षेत्रमा मन्दिरहरू हुन्छन् तर मन्दिरभित्र मूर्ति हुँदैन । त्यस्तै, महिलाहरू महिनावारी हुँदा यार्सा टिप्दैनन् । त्यसबेला उनीहरुले औषधि सेवन गरेर मात्र टिप्ने गर्दछन् । महिनावारी भएको बेलामा यार्सा टिपेमा देउता रिसाउँछन् भने जनविश्वास रहेको महाकाली नगरपालिका छाप्रीमा बस्ने यार्सागुम्बा व्यापारी सन्तोष कुम्मरले भन्नुभयो ।

यार्सागुम्बा सङ्कलनको बेलामा हिमाल तथा उच्च पहाडी क्षेत्रमा गाउँ नै रित्तिने गरी मानिसहरु पाटनतिर लागेका हुन्छन् । ससाना बालबालिका पनि आमाबाबुसँगै लगिएका हुन्छन् । बालबालिकाको आँखा तेजिलो हुने हुँदा छिटो यार्सागुम्बा चिन्न र टिप्न सक्छन् भनेर यार्सा सङ्कलनमा उनीहरुलाई लैजाने गरिन्छ । घरमा बूढाबूढी र गाईवस्तु मात्रै हुन्छन् । यतिबेला वन्यजन्तु चोरी–सिकारीका घटना पनि बढ्न थालेका छन् ।

यार्सा टिप्ने ठाउँमा प्रत्येक वर्ष आ–आफ्नो क्षेत्र स्थान छुट्याएको हुन्छ । कसैले पनि अर्काको स्थानमा पस्न पाउँदैन । आफ्नो पुरानै स्थानमा गएर पाल राखेर समूहमा बस्ने गर्छन् । यार्सागुम्बा भएको ठाउँमा बोटबिरुवा हुँदैन । बादल लाग्ने बित्तिकै हिउँ पर्न थाल्छ कतिपय ठाउँमा हिउँ पन्छाउँदै यार्सा बसेर कुटोले खनेर टिप्नुपर्ने हुँदा कतिपयलाई लेक लाग्ने वा अन्य बिरामी पर्ने सम्भावना पनि रहन्छ । उनीहरुले लेकबाट जोगिनका लागि घरेलु औषधिका रुपमा टिमुर, डोली, मह, प्याज, गुड, लसुन हामी लिएर गएका हुन्छौँ ।

यार्सागुम्बाको बढ्दो सङ्कलन तथा कारोबारसँगै उच्च पहाडी तथा हिमाली भेगमा शिक्षा, स्वास्थ्य तथा शान्तिसुरक्षा, सामाजिक विकृतिमा प्रतिकूल प्रभाव पनि पर्ने गरेको छ । कतिपय ठाउँमा विद्यालयका विद्यार्थीहरू शिक्षक कर्मचारी उल्लेख्य सङ्ख्यामा यार्साको सङ्कलनमा जाने गर्दा जेठदेखि असोजसम्म विद्यालय नै बन्द हुने गरेको पाइन्छ ।

यार्साको जीवनचक्र

समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ । यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो । हिमाली भेगमा हिउँ सकिएपछि वैशाखतिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फुल्न थाल्छन् । त्यहीँ समयमा पुतलीहरूले फूल पार्ने गर्दछन् । पुतलीको लार्भा अवस्थामा सङ्क्रमण हुँदै पूरै शरीर नै तन्तुले भरिन्छ । वसन्त ऋतुसम्ममा यो आँख्लैआख्ला भएको लामो डाँठमा परिणत हुन्छ ।

यो जमिनमुनिबाट लार्भाको टाउको भएर बाहिर अङ्कुरित हुन्छ । जमिनमुनिको भाग सुनौलो रङको दुईदेखि चार मिलिमिटर मोटो र तीनदेखि पाँच सेन्टिमिटर जति लामो हुन्छ भने माथिको भाग चारदेखि सात सेन्टिमिटर जति खैरो रङको लामो हुन्छ । तौल ०.८ देखि ०.११ मिलिग्राम सम्मको हुन्छ । यसलाई तिब्बती भाषामा ‘यार्चाकुन्बु’ भनिन्छ । ‘यार’ भनेको वर्षा, ‘चा’ भनेको झार, ‘कुन’ भनेको हिउँद र ‘बु’ भनेको कीरा हो । यार्चाकुन्बुबाट नै यर्सागुम्बा नाम रहन गएको हो भनिन्छ । यसलाई नेपालमा यर्सागुम्बा, यार्चागुम्बा, कीराघाँस, जीवनबुटी, भियाग्रा, सञ्जीवनी, कीराझार आदि नामले चिनिन्छ ।

यार्साको बहुउपयोगिता

यर्सागुम्बा एक प्रकारको बहुपोषक भिटामिनयुक्त जडीबुटी हो । यसलाई शक्तिवद्र्धक र रगत बढाउने औषधिका रूपमा पनि लिइन्छ । लामो समयको बिरामीलाई तागत दिने रक्तअल्पता एवं उमेर बढ्दै गएपछि हुने समस्याको उपचारमा यो प्रयोग गरिन्छ । यसमा एन्टीबायोटिक गुण पनि रहेको हुनाले छाती तथा फोक्सोको सङ्क्रमण, क्षयरोग, खोकी, रक्तचाप, कोलेस्टेरोल, यौन शक्ति बढाउने, क्यान्सर, मिर्गौला, कलेजो, हेपाइटिस ‘बी’जस्ता रोगमा पनि औषधिका रुपमा सेवन गरिन्छ । यार्सागुम्बाको केही भाग धुलो बनाएर मनतातो दूध वा पानीमा मह मिसाएर रातिमा खाएमा शरीरमा रोग प्रतिरोधात्मक शक्ति पनि बढ्ने विश्वास गरिएको व्यास गाउँपालिकाका स्थानीयवासी प्रेम रोकायाले बताउनुभयो ।

विश्व जलवायु परिवर्तनले गर्दा यार्सागुम्बाको फङ्गस उम्रनमा धेरै नै असर परेको छ । यो उम्रनका लागि बाक्लो हिउँ चाहिन्छ तर विश्व जलवायु परिवर्तनका कारण तापमान बढ्दै जाँदा हिउँ पर्ने क्रममा आएको फेरबदलले यो प्रजातिमा पनि सङ्कट परेको छ । जथाभावी यार्सा सङ्कलन गर्ने, यार्सा टिप्न जाँदा प्लास्टिक तथा सिसाजन्य वस्तु जथाभावी फाल्ने गर्दा पनि यसको उत्पादनमा क्रमशः ह्रास आइरहेको छ ।

हिमाली तथा पहाडी भेगको बासिन्दा बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन गरी बिक्री वितरण गर्दा जनताको आर्थिक स्थिति, पर्यटन, होटल, बैङ्क तथा वित्तीय संस्थालगायत आयआर्जन तथा रोजगारका अवसरमा वृद्धि भएको पाइन्छ । हिमाली क्षेत्रका अधिकांश परिवारको वर्षभरिको जीविकोपार्जनका लागि यार्सागुम्बालगायत बहुमूल्य जडीबुटी नै मुख्य आम्दानीको स्रोत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी