‘पुजार सार्की’ हेरेर भावुक भए बाबुराम

‘पुजार सार्की’ हेरेर भावुक भए बाबुराम

  • बिहिबार, जेष्ठ ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताएका छन्। बिहीबार दिउसो चलचित्र हेरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले यसको लडाइँ लामो भएको बताए।

“म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ। ‘पुजार सार्की’ हेर्दा हेर्दै म भावुक भएँ, कतिपय प्रसङ्ग आफैसँग पनि मिलेको पाएँ,” उनले भने “यो लामो लडाइँ हो। जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड रहेको छ। धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन गाह्रो छ। यो मुद्दालाई यो चलचित्रले गहिरो गरी उठाएको छ।”

भट्टराईले जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्मगुरुहरूले नै साथ दिनु पर्ने बताए। उनले भने, “म आफैले पनि मेरो नाम बाबुराम कामी भन्नुस् भनेर संसदमा नै भनेको थिए, यो चलचित्रको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नु भएको छ। यस्तो समस्यामा एक व्यक्तिले नाम मात्र लेखेर हुँदैन, राज्य र धर्मगुरुहरूले नै साथ दिनुपर्छ।” भट्टराईले यो चलचित्रले सन्देश त दिएको छ नै साथमा दर्शकलाई मनोरञ्जन पनि दिएको बताए। उनले राज्यले यस प्रकारका चलचित्रलाई कर छुट दिनुपर्ने विचार राखे ।

त्यस्तै, दोस्रो पटक ‘पुजार सार्की’ हेर्न पुगेकी पूर्व मन्त्री तथा बाबुराम पत्नी हिसिला यमीले राजनीतिकर्मीले यो चलचित्रको पात्र मेघराजले लिएको जस्तै विचारको अडान लिनुपर्ने बताउँदै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यङ्ग्य गरिन्। उनले भनिन्, “प्रधानमन्त्री प्रचण्ड ‘मेघराज’ जस्तो हुनुपर्ने तर के भइदिनुभयो हामीलाई थाहै छ।” उनले वास्तविक मुद्दा बोक्ने सधैँ अल्पमतमा परिरहेको बताउँदै आफूहरू चलचित्रमा मेघराज पात्र जस्तै सधैँ क्रान्तिकारी रहेको र सोही पात्रजस्तै सधैँ अल्पमतमा परेको बताइन्।

चलचित्रका लेखक बिकास सुवेदीले पूर्ण रूपमा कम्युनिस्ट आन्दोलनमा रहेकाहरूकै कथा नभएता पनि कहीँ न कहीँ उनीहरूबाट नै प्रभावित पात्रहरू यो चलचित्रमा रहेको बताए। सुवेदीले भने, “उहाँहरूले यो स्तरको प्रतिक्रिया दिनु मेरो लागि ठुलो सफलता हो। मूल मुद्दामा अडान लिने मानिसहरू मुद्दाबाट पर पर पुग्नु र अवसरवादीहरू अगाडि आइरहेको कम्युनिस्ट आन्दोलनमा देखिएको छ। त्यो कुराको असन्तुष्टि म भित्र पनि रहेछ भन्ने लागेको छ। लेखकको हिसाबले उहाँहरूको प्रतिक्रिया मैले अस्कर पाएजस्तै हो ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी