उच्च अदालत पाटनले सफाई दिएपछि क्रिकेटर सन्दीप लामिछाने आगामी विश्वकप खेल्न अमेरीका जाने भएका छन् ।
यसअघि उनलाई गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। जिल्ला अदालतको आदेशसँगै उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।
पाँच महिनापछि सफाइ पाएका सन्दीपले अब आगामी जेठ तेस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी विश्वकप खेल्छन् वा खेल्दैनन् भन्ने क्रिकेटप्रेमीमाझ चासो छ।
सन्दीपलाई विश्वकप खेल्नका लागि अमेरिका पठाउने तयारी गरिरहेको क्यानका कोषाध्यक्ष पदम खड्काले बताए।
कोषाध्यक्ष खड्काले दुई(तीन दिनभित्र सन्दीपलाई विश्वकपका लागि अमेरिका पठाउने बताए।
आइसिसीले आगामी जेठ १२ गतेसम्म यसअघि घोषणा गरिएको टोलीमा परिवर्तन गर्न सहभागी टोलीलाई अनुमति दिएको छ। टोलीमा परिवर्तन गर्न चाहेमा आइसिसीको इभेन्ट टेक्निकल कमिटीबाट भने अनुमति प्राप्त गर्नु पर्नेछ।
आइसिसीले टोलीमा परिवर्तन गर्न अनुमति नदिएको अवस्थामा पनि क्यानले आफ्नै खर्चमा सन्दीपलाई अमेरिका पठाउने क्यानको तयारी छ ।
हाल नेपाली टोली विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा छ। केही दिन सेन्ट भिसेन्टमा तयारी गरेपछि नेपाली टोली जेठ ७ मा अमेरिकाको टेक्सासमा फर्कनेछ। ह्युस्टमा पाँच दिन अभ्यास गरेपछि आइसिसी विश्वकपका वार्मअप खेल सुरू हुनेछन्।
नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्।
टी(२० विश्वकप २०२४ मा नेपाल समूह ुडीु मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।