काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बसेको हो।
आज दिँउसोबाट बजेट अधिवेशन सुरु हुने भएकाले कांग्रेसले संसदमा खेल्ने भूमिका र सहकारी ठगी प्रकरणको विषयमा छलफल जारी रहेको बुझिएको छ ।
सरकारले जेठ १५ गते बजेट र त्यस अगाडि नीति तथा कार्यक्रम ल्याउँदैछ। यस अगाडि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै निरन्तर संसद अवरोध गरेको थियो। कांग्रेसले लामिछानेसमेत हिस्सेदार रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट लगानी गरी आर्थिक अपचलन भएको बताउँदै संसदीय छानबिनको माग गर्दै आएको छ।
सहकारी ठगी प्रकरणको विषयलाई लिएर हिउँदे अधिवेशनको अन्त्यतिर निरन्तर संसद अवरोध गरेको कांग्रेसले बजेट अधिवेशन पनि अवरोध गर्ने संकेत दिएको छ ।