काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगको कदमलाई नजिकबाट हेरिरहेको बताएका छन् । बुधबार आफ्नो निवास बुढानीलकण्ठमा गण्डकी प्रदेशसभाका कांग्रेस सांसदहरूसँगको भेटवार्तामा देउवाले अदालत र आयोगका पछिल्ला निर्णयहरु अस्वभाविक रहेको टिप्पणी गरेका हुन् ।
गण्डकी प्रदेशसभामा एमालेका खगराज अधिकारीलाई सभामुखले समेत विश्वासको मत दिएर बहुमत पुर्याएको घटनाक्रमबारे जानकारी गराउन प्रदेश सांसदको टोलीले बिहान बुढानीलकण्ठ पुगेर देउवालाई भेटेको थियो ।
गण्डकीमा प्रदेश सरकारले विश्वासको मत लिनका लागि अदालतको फैसला अस्वाभाविक देखिएको सांसदहरूले सभापतिसँग कुरा राखेका थिए । त्यसविरुद्ध मंगलबार कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ ।
देउवाले कम्युनिस्टहरूको सत्ता कब्जाको शैलीविरुद्ध लड्न तयार रहेको बताएका थिए । निर्वाचन आयोगले जसपा नेपाल फुटाउन हतार गरेकोमा देउवा रुष्ट देखिएका छन् ।