मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

  • शुक्रबार, बैशाख १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा कम्युनिष्ट नेता हुनुहुन्छ । २००४ सालभन्दा पहिले नै भारतीय स्वतन्त्रता संग्राममा उहाँ सहभागी हुनु भएको थियो । मनमोहन अधिकारीमा सानो उमेरदेखि नै राजनीतिक चेतना जागृत भएको थियो । चन्द्र शम्शेरको प्रधानमन्त्री हुँदा कालमा राणाविरोधी गतिविधि बढ्दै जाँदा पिता रामचन्द्र अधिकारीलाई निर्वासनको सजाय दिइएपछि उहाँ बुबासँगै निर्वासनमा भारत जानुभएको थियो । यस क्रममा उहाँ गिरफ्तारीमा पर्नुभयो र भारतीय जेलमा राजवन्दीका रुपमा रहनुभयो । त्यही कम्युनिष्ट पार्टीको सदस्य बन्नु भएको थियो ।

कम्युनिष्ट आन्दोलनमा सहभागी हुन नेपाल आगमन, बिराटनगर जुट मिलमा काम गर्न शुरू गरेको, नेपालका मजदूरहरूलाई संगठित गर्ने कामको प्रारम्भ गर्नेमा उहाँ अगुवा हुनुहुन्थ्यो । मजदूरहरुलाई भड्काएको भन्दै तत्कालीन सरकारले उहाँलाई गिरफ्तार ग¥यो । उहाँले लामो समय बन्दी जीवन बिताउनुप¥यो । यसले गर्दा नेपाल कम्युनिष्ट पार्टी स्थापना हुँदाका बखत (२००६ साल बैशाख १० गते) संस्थापक सदस्य हुन पाउनु भएन । जे होस् नेपालको वाम आन्दोलन, प्रजातान्त्रिक आन्दोलन, मजदुर आन्दोलनमा मनमोहन अधिकारीले अग्रणी नेतृत्वकारी भूमिका निर्वाह गरेर नेपालको राजनीतिमा राजनेताको दर्जा पाउनु भएको छ ।

मनमोहन अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनभित्रको निरन्तरताको पर्याय हुनुहुन्छ । उहाँ जहिलेदेखि कम्युनिष्ट पार्टीसित सम्बन्धित हुनु भयो त्यसबेलादेखि जस्तासुकै प्रतिकूलताका बीचमा पनि निरन्तरता र सक्रियतामा भने कमी आएन । पार्टीको प्रमुख नेता हुँदा वा शासन सत्तामा रहँदा मात्र होइन, प्रतिकृयावादी सत्ताबाट लखेटिदा र दमनमा पर्दा समेत मनमोहनको आन्दोलनको योद्धा बनिरहनुभयो । समकालीन कतिपय साथीहरुमा राजनीतिक विचलन आउँदा पनि उहाँ सतिसालजस्तै अविचलन रही मुलुकमा कम्युनिष्ट आन्दोलनलाई हाँक्नुभयो ।

उहाँलाई नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने अतिवादको विपक्षमा सँधै उभिरहने दृढ़ व्यक्तित्वको रुपमा सबैले बुझ्ने गर्दछन् । उहाँको स्वभाव र विचारमा समेत नरम भाव थियो । सबैसँग मिलनसार रहने र आफ्नो कुरामा प्रतिवद्ध रहने भएकाले उहाँको राजनीतिक निष्ठा र इमान्दारितालाई सबैले सम्झने गर्दछन् । विरोध र असहमतिका बीच पनि आधारभूत कुरामा भने सधैँ दृढ अडान राख्नुहुन्थ्यो ।

उहाँ दुई–दुई पटक जनताको मतबाट शानदार किसिमले विजयी बनेर सांसद बन्नुभयो । २०५१ को निर्वाचनमा एकैपटक राजधानीका दुई निर्वाचन क्षेत्रबाट ठूलो अन्तरले विजयी बन्नुभयो । नेपालकै इतिहासमा कम्युनिस्ट पार्टी स्थापना भएको ४५ वर्ष पछाडि जनताबाट निर्वाचित भएर सरकार कम्युनिस्ट पार्टीको नेतृत्वमा एकल सरकार गठन भएको थियो । उहाँ सांसद बन्नुभयो, प्रतिपक्षी दलको नेता बन्नुभयो, तर उहाँकै जीवनस्थितिमा खास कुनै परिवर्तन देखिएन । सादापन तथा जनता र कार्यकर्तासितको सम्पर्क–सम्बन्धमा कहीं कसैले कुनै टिप्पणीसमेत गरेको पाइँदैन ।

मनमोहन अधिकारी त्यसैले उहाँलाई कम्युनिष्ट आन्दोलनभित्रको सादगीपूर्ण जीवन बाँच्ने विवादरहीत व्यक्तित्वको रुपमा लिने गरिन्छ । कम्युनिष्ट पार्टीको नेता तर असल मान्छेको रूपमा चिनिन चाहने – बाँचिरहन चाहने व्यक्ति हुनुहुन्थ्यो उहाँ । उहाँ दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका प्रथम अध्यक्षसमेत हुनुहुन्छ । मुलुकको प्रधानमन्त्री पदमा रहँदा वा पार्टीको अध्यक्ष हुँदा उहाँमा कहिल्यै घमण्ड र मपाइँत्व आएन, सादगीपूर्ण जीवनबाट कहिल्यै विचलित हुनुभएन । सँधै आफूलाई नेता वा प्रधानमन्त्रीका रूपमा भन्दा पनि एउटा असल नागरिक ÷ असल मानिसका रूपमा चिनून् , बुझून् भन्ने चाहनुहुन्थ्यो । उहाँ कहिल्यै विवादमा पर्नु भएन र सधैँभरि आफूलाई असल मान्छेको रूपमा स्थापित रहनुभयो । उहाँले सत्ताका लागि भनेर मूल्य, मान्यता विपरीत गएर राजनीति गर्न कहिल्यै रुचाउनुभएन । सबैलाई सम्मानपूर्वक ढङ्गले हेर्ने, सद्व्यवहार गर्ने र समस्यामा केन्द्रित भएर छलफल गर्ने तथा निष्कर्षमा पुग्ने र यसका लागि कहीं कतै असहज नमान्ने उहाँको स्वभाव थियो ।

विसं २०५१ को निर्वाचनपछि कुनै पनि दलले स्पष्ट बहुमत नल्याएको र एमालेसबैभन्दा ठूलो दल भएका कारण सरकार बनाउने स्थितिमा पुग्यो । मनमोहन अधिकारी प्रधानमन्त्री बन्नुभयो । यो उहाँको जीवनमा मात्र नभएर नेपालकै कम्युनिष्ट आन्दोलनका लागि युगीन महत्वको घटना थियो । नेपालको राजनीतिमा उहाँ २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री मात्र बन्नु भएन, आफ्नो कार्यकाललाई जनमुखी र राष्ट्रियताको कसीमा खरोसँग उतार्न सक्षम हुनु भएको थियो । देशको शासन सत्ताले पहिलोपटक सामाजिक सुरक्षाको महत्वपूर्ण नीति र कार्यक्रमहरू लागु गराउन उहाँ सफल हुनुभयो ।

नेपालमा योजनाबद्ध विकासको थालनी २०१३ सालबाट भए पनि ४४ वर्षसम्म गाउँमा विकास समानुपातिक हिसाबले पुगेको थिएन । मनमोहनको सरकारले सबै गाउँमा समानुपातिक हिसाबले विकासको लहर सिर्जना गर्न ‘आफ्नो गाउँ आफंै बनाऔं’, ‘नौ स’को अभियानका साथ सिंहदरबार वरिपरि रहने विकासको बजेट रकम सोझै हरेक गाउँमा पठाउन थालेपछि देशव्यापी रूपमा विकासको लहरको सुरुवात भयो । ज्येष्ठ नागरिक, महिला, असहाय र बालबालिकालाई सम्मान गर्दै सामाजिक सुरक्षा सुविधाअन्तर्गत भत्ता र सुविधा दिन थालेपछि मनमोहन अधिकारी ज्येष्ठ नागरिकको समेत अभिभावक भएर राष्ट्रभर परिचित हुनुभयो । त्यसैले त आजपर्यन्त ज्येष्ठ नागरिकले मनमोहनको सम्झना गरिरहेका छन् । वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रम बन्यो ।

नेपालको भूराजनीतिक संवेदनशीलताप्रति अति नै संवेदनशील र दीर्घकालीन र स्थायी समाधानका लागि जिम्मेदारीपूर्वक पहल र प्रयत्न गर्ने (१९५० को नेपाल–भारतबीच भएको सन्धिको पुनरावलोकन गर्ने विषयलाई औपचारिक रूपमा उठाउने) नेपालको प्रथम प्रधानमन्त्रीका रूपमा उहाँलाई लिने गरिन्छ । प्रधानमन्त्री रूपमा पहिलोपटक भारत भ्रमण गरेको बेला पहिलोपटक १९५० को सन्धिको पुनरावलोकन गर्नुपर्ने कुरा उठाउने पहिलो प्रधानमन्त्री उहाँ नै हो । त्यति मात्र होइन, भारतीय पक्षलाई समेत त्यसलाई स्वीकार गर्न लगाउन उहाँ सफल हुनुभएको थियो ।

राजनीतिमा मौलाउन शुरु गरेको विकृति–विसङ्गतिले ठाउँ पाउला भन्ने कुराबाट उहाँ हमेशा सतर्क रहनुहुन्थ्यो । प्रधानमन्त्री हुँदा र नहुँदाको दुवै अवस्थामा उहाँमा यी कुरा समान रहे । जनतासितको निरन्तर र गाढा सम्पर्कमा बाँच्न चाहने र त्यसैलाई आफ्नो ऊर्जाको स्रोत ठान्नुहुन्थ्यो । उहाँ अत्यन्त दृढ र आदर्शप्रति समर्पित तथा जनतासितको सम्बन्धमा ऊर्जावान् भइरहने नेता हुनुहुन्थ्यो । जनतासितको घनिष्ठ सम्पर्क, सम्बन्धमा उहाँ बाँच्न चाहनुहुन्थ्यो । जस्तोसुकै प्रतिकूल स्थितिमा पनि जनतामा जान रुचाउने उहाँले कहिल्यै आराम लिन चाहनुभएन । बेहोश भएर मृत्युको मुखमा पुग्ने बेलासम्म पनि उहाँको यो स्थिति कायम रह्यो ।

मुलुक आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ठाउँमा पुग्नुमा उहाँ जस्ता पहिलो पुस्ताका नेताहरूको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट मात्रै सम्भव भएको हो । उहाँको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताबजस्तै रहेको छ । उहाँको एउटा सपना थियो–राजनीतिलाई विकृति÷विसङ्गतिबाट मुक्त बनाउन कम्युनिष्टले बहुमतको सरकार बनाउनै पर्छ । उहाँको त्यो सपना केवल सपना थिएन, सुझबुझपूर्ण राजनीतिक निष्कर्ष थियो । उहाँको त्यो सपना पूरा गर्न लागिपर्नु एमालेको मात्र नभएर सबै प्रगतिशील तथा देशभक्त शक्ति तथा देशवासीहरूको कर्तव्य हो । यही कर्तव्यको पालनाले मात्र मनमोहन अधिकारीले देख्नुभएको सुन्दर सपनालाई साकार पार्न सकिन्छ । (नेकपा(एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारको प्रमुख राजनीतिक सल्लाहकार हुनु भएको थियो । प्रस्तुत लेख नेता पोखरेलसँग गरिएको कुराकानीमा आधारित छ)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी